काठमाडौं । नेपाल चिकित्सक संघले उपभोक्ता अदालतले गरेका निर्णय पर्ति आपत्ति जनाउदै आज मंगलबार (१७ गते ) देखि ७२ घण्टाका लागि देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुद्वारा हातमा कालो पट्टि बाँधी सेवा प्रवाह गर्ने घोषणा गरेको छ।
चिकित्सकद्वारा उपचारको क्रममा त्रुटी भएमा उजुरी हेर्ने जिम्मेवार संस्थाको रूपमा नेपाल मेडिकल काउन्सिल रहेकोले यस्ता मुद्दाहरू काउन्सिल मार्फत नै अगाडी बढाउनुपर्ने संघको भनाई रहेको छ ।
संघले सोमबार १६ गते विभिन्न अस्पताल प्रमुखहरु, एसोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज, नेपाल नर्सिङ एसोसिएसन, चिकित्सक समाज लगायत सम्पूर्ण सरोकारवालाहरूसँग गरिएको बृहद छलफलद्वारा चिकित्सकीय अभ्यास सम्बन्धि विषयको मुद्दाहरूमा उपभोक्ता अदालतले हालका दिनहरूमा प्रेषित गरेको फैसलाहरू नेपाल सरकारको अर्ध न्यायिक निकायको रूपमा रहेको नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारसँग बाझिएको निष्कर्ष निकालिएको छ ।
त्यसैगरी संयोजकत्वमा विभिन्न स्वास्थ्य संघसंस्थाका प्रतिनिधिहरू समावेश गरिएको टास्क फोर्स बनाउने निर्णय गरिएको छ। नेपाल सरकारद्वारा यस विषयमा यथाशीघ्र उपयुक्त कदम नचालेमा संघ सशक्त आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न चेतावनी समेत दिएको छ।
