धादिङ । बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका प्रादेशिक अस्पतालहरुको स्तर उन्नति गर्नुका साथै विरामीहरुलाई प्रदान गर्ने सेवा बढाएर जिल्लामा रहेका अस्पतालहरुमा उपकरणहरु थप्न सुरु गरेको छ ।
यसैक्रममा मृगौलाका विरामीहरुलाई ध्यानमा राखेर प्रदेश भित्रका विभिन्न अस्पतालहरुमा डायलासिस मेसिनहरु थप गरेको छ । यसले जिल्लामा रहेको प्रादेशिक अस्पतालमा उपचारका लागि आएका मृगौलाका विरामीहरुलाई फाइदा पुगेको सेवाग्राहीहरुको भनाइ छ ।
बिशेषगरी, पछिल्लो समय सरकारले प्रादेशिक अस्पतालहरुमा मृगौला रोग सम्वन्धि उपचारका लागि आएका विरामीहरुलाई लक्षित गर्दै हेमो/डायलिसिसका उपकरणहरु थप गर्न थालेको हो ।
यसै क्रममा धादिङ अस्पतालमा डायलिसिस गर्ने उपकरणहरु थपिएको छ। पछिल्लो समय मृगौलाका विरामीहरुको संख्या बढ्दै गएको र उपचार विधि समेत महङ्गो पर्ने भएपछि सरकारले मृगौलाका विरामीहरुलाई मध्यनजर राख्दै हरेक जिल्लामा हेमो/डायलिसिस गर्ने प्रविधि जडान गरेको हो । यसले स्थानीयलाई निकै सहज भएको छ ।
बागमती प्रदेश सरकारले सेवा संञ्चालनमा रहेका प्रादेशिक अस्पतालहरुमा उपकरण थप गरेको छ भने, नयाँ अस्पतालहरुमा पनि सेवा सुरु गरेको छ । यसैक्रममा धादिङ जिल्लाको धादिङ अस्पतालमा पनि दुई ओटा नयाँ हेमोडाइलासिस मेशिन थप गरी सेवा थप विस्तार गरिएको हो । यससँगै धादिङ अस्पतालमा सात ओटा मेसिन जडान गरिएका छन ।
धादिङ अस्पतालको माग अनुसार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत स्वास्थ्य आपूर्ति केन्द्र, हेटौँडाले उक्त दुई वटा डायलिसिस मेसिन उपलब्ध गराएको हो । अस्पतालका डाक्टर दिनेश रेग्मीका अनुसार अब उपकरण थप भएसँगै तीन सिफ्टमा डायलिसिस सेवा संञ्चालन गरिनेछ ।
यो सेवाबाट धादिङका मात्र नभई नुवाकोट र गोर्खाका बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको छ ।