काठमाडौँ । उपभोक्ता अदालतको फैसलाको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघले आज ११ बजे काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने भएको छ ।
संघले घोषणा गरेको चरणबद्ध आन्दोलनको अन्तर्गत आज मंगलबार पनि देशभरका अस्पतालहरुमा आकस्मिक र सघन उपचारबाहेकका सेवाहरु बन्द हुने भएका छन्। कानून संसोधनका लागि दवाव दिन भन्दै उनीहरु सेवा बहिस्कार गर्दै आन्दोलनमा उत्रिएका हुन् । देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प भएको कारण बिरामीहरुले सास्ती खेप्नु परेको छ।
संघले बिहान ११ बजे उपत्यका भित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई माइतीघर मण्डलामा एवं उपत्यका बाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सम्बन्धित प्रदर्शन स्थलमा भेला भई धर्ना दिन आह्वान गरेको छ। यसका साथै आज चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालयमा बुझाउने कार्यक्रम समेत रहेको छ।