काठमाडौँ । नेपाल चिकित्सक संघको नेतृत्वमा भएको आन्दोलन फिर्ता भएसंगै अस्पतालहरुमा नियमित सेवा सुरु भएको छ ।
उपभोक्ता अदातलको फैसलालाई लिएर आन्दोलित चिकित्सकसँग सरकारले तीन बुँदे सहमति गरे पछि आज देखि अस्पतालहरुमा नियमित सेवा सुरु भएको हो। मंगलवार नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला संस्थाहरूले उठाएको मागको सम्बन्धमा प्रधानमन्त्रीको निर्देशनमा आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ । जसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव सदस्य तोकिएको छ ।
विभिन्न माग राखी आन्दोलनरत नेपाल चिकित्सक संघ तथा विभिन्न संघ संस्था एवं सरोकारवालाहरुका मागहरुको यथोचित सम्बोधन गर्न विद्यमान कानूनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ७ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न उक्त कार्यदल गठन भएको छ।
यसका साथै कार्यदलबाट प्राप्त प्रतिवेदन तीनै जना मन्त्रिहरु र नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला पक्षहरु सम्मिलित यसै वार्ता टोलीमा पेश गरी सोहि अनुसार कार्यान्वयन गर्ने, उपभोक्ता संरक्षण ऐन, २०७५ लगायतका विद्यमान कानूनी तथा नीतिगत व्यवस्थाको आवश्यक संशोधनका लागि ११ दिन भित्रमा नेपाल सरकार मन्त्रिपरिषदबाट सम्बन्धित मन्त्रालयले सैदान्तिक सहमति लिने र फाष्टट्र्याकबाट कानून संशोधनको लागि यथाशिघ्र प्रकृया अगाडि बढाउने सहमति भएको छ ।
