काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साउन १ गतेबाट आठ जटिल रोगका बिरामीले स्वास्थ्य बीमामार्फत अब दुई लाख रुपैयाँसम्मको उपचार प्राप्त गर्न सक्ने बताएका छन् । उनका अनुसार क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्ने छन् ।
बुधबार मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचार सहायतामा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् ।
‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ ८ प्रकारका बिरामीले हाम्रो पूर्वप्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौँ,’ मन्त्री पौडेलले भनेका छन् ।
स्वास्थ्य बिमा सुधारमा अर्को महत्त्वपूर्ण पाइला भन्दै पौडेलले स्वास्थ्य बिमालाई थप परिष्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए।