सिरहा । लहान क्षेत्रमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकप्रति नियमन अभियान सुरू गरेको छ ।
स्वास्थ्य क्लिनिकप्रति गुनासो बढ्दै गएपछि इलाका प्रशासन कार्यालय लहानले मङ्गलबारदेखि अनुगमनमा सुरू गरेको छ । अनुगमनमा लहान नगरपालिका स्वास्थ्य शाखा र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहभागी थिए ।
अनुगमनका क्रममा लहान–३ स्थित हस्पिटल चोकमा रहेको ‘विन्धवासिनी क्लिनिक’ ले कुनै प्रकारको कानुनी प्रक्रिया पूरा नगरेको, बिना दर्ता क्लिनिक सञ्चालन गरेका पाइएपछि उक्त क्लिनिक मङ्गलबार नै सिल गरिएको छ ।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम स्वास्थ्य क्लिनिकले ‘डि’ र ‘ई’ वर्गको प्रयोगशाला राख्नुपर्ने व्यवस्था रहेको छ । तर, यस क्लिनिकले कुनै प्रकारको प्रयोगशाला राखेको पाइएन । त्यसैले बिना परीक्षण बिरामीको शल्यक्रिया गर्दा जोखिम आउन सक्ने इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले बताए।
त्यस्तै, अनुगमनको क्रममा हस्पिटल चोककै ‘राधा कृष्ण डेन्टल क्लिनिक’ पनि सञ्चालनको लागि कुनै पनि इजाजतबिनै सञ्चालन गरेको पाइएको छ । लहान—११ मा रहेको लीला मदन प्रसूति गृहले पनि सञ्चालनको लागि नगरपालिकाबाट अनुमति पत्र लिए पनि २०७७ सालदेखि नवीकरण नगरेको पाइएको छ ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुखका अनुसार, लहान नगरपालिकाभित्र जम्मा ४४ वटा क्लिनिक सञ्चालनमा रहे पनि आठ वटा क्लिनिकले मात्र इजाजत पत्र लिएर सञ्चालन गरेको छ भने अन्यले बिना अनुमति निर्वाध सञ्चालन गरेको पाइएको छ । दर्ता गरेका कुनै पनि क्लिनिकले नवीकरण गरेका छैनन् ।
अनुगमनको क्रममा अधिकांश क्लिनिकले अस्पतालजन्य फोहरको उचित व्यवस्थापन नगरेको, प्रयोगशाला सुविधा नपुगेको, सङ्क्रमित फोहर खुला स्थानमा फालेको, प्रयोग गरिएका औजार सुरक्षित तरिकाले नष्ट नगरेको जस्ता गम्भीर त्रुटि पाइएको छ । यसले सङ्क्रमणको जोखिम थप बढाएको अनुगमन टोलीको निष्कर्ष छ ।