काठमाडौँ । काठमाडौँ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागी, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता ‘ भन्ने नाराका साथ काठमाडौँलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
विशेष गरी बालबालिकाहरूले सरकारले तोकेको सबै प्रकारका खोपहरू निश्चित समय अवधिभित्र पूरा गरे पश्चात् पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बसन्त अधिकारीले बताए। जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई १३ खोप र किशोरीलाई एच।पी।भी खोप लगाएको निश्चितपछि यो वर्ष घोषणा गरिएको हो । यो वर्ष मात्र नभएर प्रत्येक वर्ष खोपलाई निरन्तरता दिइने अधिकारीले बताए।

जिल्ला खोप समन्वय समिति काठमाडौँकाको आयोजनामा भएको पूर्ण खोप सुनिश्चितता कार्यक्रममा स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी र ११ वटै पालिकालाई सम्मान गरिएको छ । जिल्लालाई पूर्ण खोप सुनिश्चितका लागि सहयोग पुर्याउने व्यक्ति तथा पालिकालाई सम्मान गरिएको छ ।
समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी सबै बालबालिकाले जन्म पश्चात् खोप लगाउन पाउने र बाच्न पाउने नैसर्गिक अधिकार भएकाले गुणस्तरीय र प्रभावकारी खोप सेवा लक्षित वर्गसम्म पुर्याउनु सबैको दायित्व र जिम्मेवारी भएको बताए।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दे प्रतिबद्धता हस्ताक्षर समेत गरेका छन् ।
नेपाल सरकारले खोप सेवा पाउन पर्ने लक्षित बालबालिकाहरूले जन्मेको १५ महिनाको उमेर भित्रै पूर्ण खोप प्राप्त गरी विभिन्न रोगहरूबाट सुरक्षित हुन सकुन भन्ने अभिप्रायले पूर्ण खोपको अवधारणा २०६७ बाट शुरु गरेको थियो ।

