काठमाडौं । स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु नजिकै नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालमा प्रथम बिन्दु कायमै रहने भएको छ ।
सामाजिक सञ्जालमा यस सम्बन्धमा जानकारी दिँदै मन्त्री पौडेलले लेखेका छन्, ‘स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हट्दा नागरिकलाई परेको कठिनाई सम्बोधन गर्दै नजिक प्रथम सेवा बिन्दु नभएर सेवा लिन अप्ठ्यारा पर्ने स्थानहरूका केन्द्रीय सरकारी अस्पतालमा प्रथम बिन्दु कायमै रहने गरी व्यवस्था मिलाएका छौँ ।’
उनले भनेका छन्, 'स्वास्थ्य बीमा व्यवस्थित गर्दै हरेक स्थानीय तहमा कम्तिमा एक प्रथम सेवा बिन्दु सञ्चालन गर्ने नीतिअन्तर्गत प्रथम सेवा बिन्दुका लागि उपयुक्त स्वास्थ्य संस्था नभएका तहमा स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति गर्न प्रदेश सरकार र सम्बन्धित स्थानीय तहसँग समन्वय र सहकार्य गरी नागरिकलाई आफ्नै घरदैलो नजिकै स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं ।'
हालै स्वास्थ्य बीमा बोर्डले निजी तथा सरकारी अस्पतालहरूमा प्रथम सेवा बिन्दु हटाएर स्थानीय तहमा नै व्यवस्था गर्ने निर्णय गरेको थियो । तर, त्यस व्यवस्थाले नजिक केन्द्रीय अस्पताल नभएका स्थानका नागरिकलाई झनै समस्या परेको गुनासो प्राप्त भए पछि मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डमार्फत समस्या समाधान गर्ने प्रयास थालेका छन् ।
उनले स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुधार गर्दै नागरिकको पहुँच वृद्धिसँगै यसको दिगोपना र विस्तारका लागि हामी निरन्तर प्रयत्नशील छौं । यस कार्यमा तपाईंबाट प्राप्त सल्लाह र सुझाव सदैव स्वागत गर्ने समेत उल्लेख गरेका छन् ।
प्रथम सेवा विन्दु कायम रहने अस्पतालहरु:
१. कोशी अस्पताल
२. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
३. नारायणी अस्पताल बीरगञ्ज
४.गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज
५. बीपाी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर
६. भरतपुर अस्पताल
७. पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
८. जीपी कोइराला स्वासप्रश्सास केन्द्र तनहुँ
९. सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके
१०. भेरी अस्पताल नेपालगञ्ज
११ .राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ
१२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
१३. डडेल्धुरा अस्पताल डडेल्धुरा