काठमाडौं । तेलुगु फिल्म क्षेत्रका चर्चित हास्य अभिनेता फिश वेङ्कटको ५३ वर्षको उमेरमा निधन भएको छ । वास्तविक नाम वेंकट राज रहे पनि फिल्म उद्योग र दर्शकमाझ उनी फिश वेंकटका नामले परिचित थिए।
लामो समयदेखि मृगौलाको गम्भीर समस्यासँग जुधिरहेका वेंकटको जुलाई १८ मा हैदराबादस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।मिर्गौलासम्बन्धी गम्भीर स्वास्थ्य जटिलताका कारण उनलाई केही दिनअघि आईसीयूमा भर्ना गरिएको थियो । उनी भेन्टिलेटरमा थिए र नियमित डायलाइसिस भइरहेको थियो।
मिर्गौला रोगसम्बन्धी समस्याबाट पीडित रहेका वेङ्कटकका लागि किड्नी ट्रान्सप्लान्ट अत्यावश्यक रहेको थियो । उनकी छोरीले ५० लाख भारतीय रुपैयाँ लाग्ने मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन्, तर पैसाको अभावमा प्रत्यारोपण सम्भव भएन। प्रारम्भमा अभिनेता प्रभासका सहायकले सहयोग गर्ने भनेको खबर आएको थियो, तर पछि त्यो नक्कली व्यक्ति भएको खुलेको थियो।
वेंकटले ‘धी’, ‘बन्नी’, ‘अधुर्स’जस्ता फिल्ममा अभिनय गरेर तेलुगु फिल्म क्षेत्रमा राम्रो छवि बनाएका थिए। उनी अन्तिम पटक ‘कफी विथ अ किलर’ फिल्ममा देखिएका थिए। उनका श्रीमती र तीन छोराछोरी छन्।