काठमाडौं। नेपाल औषधि उत्पादक संघ ९एपोन० को महाधिवेशन आगामी साउन १९ गते हुने तय भएको छ।
आइतबार बसेको संघको कार्यसमिति बैठकले अधिवेशनको तयारीलाई गति दिने उद्देश्यले निर्वाचन समिति र अधिवेशन तयारी समिति गठन गरेको छ। बैठकले संघका निवर्तमान अध्यक्ष प्रज्वल जङ्ग पाण्डेको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ। समितिमा पूर्व अध्यक्ष महेश गोर्खाली र वरिष्ठ अधिवक्ता रमेश प्रसाद धिताल सदस्य रहेका छन्।
त्यसैगरी, अधिवेशन व्यवस्थापन तथा तयारीका लागि वरिष्ठ उपाध्यक्ष प्रभात रुङ्ग्टाको संयोजकत्वमा अधिवेशन तयारी समिति गठन गरिएको छ। उक्त समितिमा उपाध्यक्ष सन्तोष बराल, कार्यसमिति सदस्य शैलेस वैध र सुमित चन्द्र श्रेष्ठ सदस्य रहेका छन्।
संघका अनुसार आगामी महाधिवेशनमा औषधि उद्योगसँग सम्बन्धित नीति, प्रविधि तथा व्यवसायको वर्तमान अवस्था र सुधारका विषयमा विशेष छलफल गरिनेछ। यसले औषधि उद्योगको समृद्धि र दिगोपनाका लागि महत्त्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।