काठमाडौँ । देशभर डेङ्गीको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको पाइएको छ । गण्डकी प्रदेशमा डेङ्गी संगै कोराना सङ्क्रमणको जोखिम समेत बढेको छ ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मंगलबार मन्त्रालयमा आकस्मिक बैठक राखी मातहतका निकायलाई रोकथामको तयारीसहित उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । आइतबार पोखराको चरक अस्पतालमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा निधन भएपछि स्वास्थ्य मन्त्रालयले यसमा चासो र सतर्कता बढाएको हो ।
प्रदेशभित्र हालसम्म ४६० जना डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले सङ्क्रमण रोकथाम तथा व्यवस्थापनको तयारी गर्नुपर्ने स्वास्थ्यमन्त्री पाठकले बताए। गतवर्ष डेङ्गी सङ्क्रमणको ‘हटस्पट’ बनेको प्रदेशको राजधानी सहर पोखरासहित सबै जिल्लामा सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको जनाएको छन् ।
गत वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महानगरपालिकाले लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरू गर्दै आए पनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको जनस्वास्थ्य निरीक्षक बताएका छन् ।
हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न कठिन हुने स्वास्थ्यमन्त्री पाठकले बताए । उनले डेङ्गी फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने बताए ।