काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि पठाएको छ ।
रेबिज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आए लगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएका थिए । सोहीअनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरूमा दुवै प्रकारका औषधि आपूर्ति गरेको हो ।
विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा पवनजङ्ग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको समेत जानकारी दिए । रेबिज विरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ बताए ।