काभ्रे – सरकारले स्वास्थ्य बिमामा ‘सरकारी स्वास्थ्य संस्थालाई मात्र प्रथम सेवा बिन्दु मान्ने निर्णय गरेको छ ।
सरकारले स्वास्थ्य बिमामा गरेको नयाँ व्यवस्था अनुसार, स्थानीय तहमा रहेका सरकारी सेवा केन्द्रहरूलाई व्यवस्थित गर्ने लक्ष्य राखिएको छ । नयाँ व्यवस्था अनुरूप काभ्रेमा जिल्ला स्थित मेथिनकोट अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी प्राथमिक स्वास्थ्य केन्द्र, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र र सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘प्रथम सेवा बिन्दु’ तोकिएको छ ।
काभ्रेमा तोकिएको सेवा बिन्दुबाट नागरिकले सहज रूपमा सेवा नपाएको गुनासो गरेका छन् । दक्ष एवं पर्याप्त जनशक्ति नहुनु, तोकिएको सेवा बिन्दु पायक स्थानमा नभएको, केही स्वास्थ्य केन्द्रले लागू गरेको कोटा प्रणाली, आफ्नो क्षेत्रमा सेवा केन्द्र सञ्चालन नहुँदा अन्यत्र केन्द्रमा धाउनु पर्दा दुःख भोग्नु परेको, एउटै रिफर लेटरका लागि ४ पटकसम्म धाउनुपरेको गुनासो सेवाग्राहीहरूको छ ।
त्यस्तै पर्याप्त जनशक्ति र श्रोत–साधन अभाव, पूर्वाधार तथा उपकरणहरूको उचित व्यवस्थापन, सीमित श्रोत–साधनबाट धेरै सेवाग्राहीलाई सेवा दिनुपरेको लगायत समस्या अहिले प्रथम सेवा बिन्दु तोकिएका स्वास्थ्य केन्द्रहरूमा रहेको स्वास्थ्य केन्द्रका इन्चार्जहरू बताउँछन् ।
प्रथम बिन्दु तोकिएको उक्त स्वास्थ्य संस्थाहरूमध्ये हाल मेथिनकोट अस्पताल, सुन्थान प्राथमिक स्वास्थ्य केन्द्र र खोपासी प्राथमिक स्वास्थ्य केन्द्र गरी ३ वटा स्वास्थ्य संस्थाहरूले मात्रै स्वास्थ्य बिमा अन्त्रगतको प्रथम बिन्दुको स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रले पर्याप्त जनशक्ति र श्रोत–साधन अभावको समस्या औंल्याउदै सेवा सुचारु गरेका छैनन् ।