काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न सक्रियता देखाएका छन् ।
हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाइए पछि मन्त्री पौडेलले त्यस्ता केन्द्रहरुको जग्गाको अवस्थाबारे तत्काल विवरण संकलन गर्न मन्त्रालयका अधिकारीहरुलाई भनेका थिए । त्यस आधारमा मन्त्रालयले यस अघि विवरण प्राप्त नभएका अस्पताल, प्रयोगशाला तथा केन्द्रहरूका नाममा सात दिनभित्र विवरण पठाउन परिपत्र गरेको छ ।
देशैभर सरकारी अस्पतालका जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि कतिपय स्थानको जग्गाको यकिन विवरण नै प्राप्त नभएकाले अब प्राप्त विवरणका आधारमा अतिक्रमण भएको पाइएमा आवश्यक कदम चाल्ने मन्त्रालयको तयारी छ । कतिपयको जग्गा लिजमा दिइएको छ भने केहीको दर्ता हुन समेत बाँकी रहेको मन्त्रालयको आन्तरिक विश्लेषण छ ।