काठमाडौं । विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ। स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ।
यस वर्ष “स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं” भन्ने नारासहित यो दिवस मनाइँदैछ। स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ। दूधमा रोग निरोधक तत्व हुन्छ जसले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ। चिकित्सकका अनुसार शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ।
शिशुलाई छ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ। स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने गर्छ। शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि स्तनपान महत्त्वपूर्ण हुनेगर्छ। चिकित्सकका अनुसार स्तनपानले शिशुलाई कष्ट र तनावबाट समेत मुक्त गराई आराम प्रदान गर्दछ।
दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्तनपान एक प्रमुख आधार हो। कुपोषण घटाउनका लागि स्तनपानले महत्त्वपूर्ण भूमिका खेल्छ।
नेपाल सरकारले शिशु तथा बालबालिकाको खाद्य पदार्थको अनुचित प्रवर्द्धनको अन्त्य गर्न विश्व समुदायमा प्रतिबद्धता गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण गर्ने र सार्वजनिकस्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापनाका लागि काम गर्दै आएको छ।