काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा चुरोटलगायत सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूलाई ठाउँको ठाउँ पाँच सय रुपैयाँ जरिवाना तिराउने नियम कार्यान्वयन गर्न लागेको छ।
महानगरपालिकाले यसपटक आर्थिक ऐन २०८२ मै सार्वजनिक स्थलमा धूमपान गरेमा ५०० रुपैयाँ र दोहोर्याएमा प्रत्येक पटक दोबर हुनेु व्यवस्था गरेको छ। विगत चार वर्षदेखि चुरोटलगायत सुर्तीजन्य पदार्थको सेवन सार्वजनिक स्थलमा रोक लगाउने अभियान थालेको भए पनि विगत दुई सातायता सचेतना फैलाउने काम भइरहेको महानगरपालिकाले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सुर्तीजन्य पदार्थका कारण बर्सेनि करिब ४० हजार मानिसको ज्यान जाने गरेको छ। महानगरपालिकाले कुनै पनि व्यक्तिले पिएको चुरोटको धुवाँले अर्को व्यक्तिलाई असर नगरोस् भन्नका लागि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगमाथि रोक लगाउन यो अभियान सुरु गरिएको जनाएको छ।
विगत १५ दिनमा विभिन्न ठाउँमा महानगरपालिकाले सादा पोसाकमा समेत नगर प्रहरी खटाउँदा सार्वजनिक स्थलमा भेटिएका मानिसहरूले खान नहुने रहेछ अबदेखि म गर्दिनँ, ठिक छ सम्झाइदिनुभयो, हामीले हिजैदेखि खाँदै आएको, रोग लागे मलाई नै लाग्छ भन्ने जस्ता प्रतिक्रियाहरू जनाएको महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए।
सार्वजनिक स्थल भन्नाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ ले विभिन्न स्थानहरूलाई तोकेको छ। यसमा सरकारी कार्यालय, वृद्धाश्रम, अनाथालय, बाल उद्यान, क्लब, सार्वजनिक शौचालय, उद्योग, कारखानाका कार्यस्थल, चलचित्र घर, सांस्कृतिक केन्द्र, नाट्यशाला, होटल, रेस्टुरेन्ट, बार, भोजनालय, चमेना गृह, लज, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, रङ्गशाला, कभर्ड हल, जिम, पौडीपोखरी, डिपार्टमेन्ट स्टोर, मिनी मार्केट, धर्मशाला, धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतीक्षालय तथा टिकट काउन्टर, पार्क, सडक चोक, पोखरी, सम्पदालगायतका क्षेत्रहरू पर्छन्।