काठमाडौं । देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी गर्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलले निर्देशन दिएका छन्।
संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो ।
मन्त्री पौडेलले अस्पतालमा हुने भीड व्यवस्थापनका लागि नौबुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका थिए। मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन अधिकारीलाई भनेका थिए। यसअन्तर्गत डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन गर्ने तयारी समेत गरेको छ।
मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले अस्पतालहरुले मन्त्रालयसमक्ष जनाएको नौबुँदे प्रतिबद्धताअन्तर्गत नै भीड व्यवस्थापन गर्ने विषय समेत रहेको उल्लेख गर्दै अब अनुगमनमा कडाइ गर्ने बताए ।