बाजुरा। बाजुरामा अवस्थित धार्मिक एवम् पर्यटकीय स्थल बडीमालिकाको दर्शनका लागि गएका भक्तजनहरूको नेपाली सेना द्वारा निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ।
इश्वरी बक्स गुल्म बाजुराले बडिमालिका विशेष सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य उपचार सेवामा ७ सय बढी भक्तजनले सेवा लिएका छन् ।
सेनाले बडी मालिकाको दर्शनका लागि आएका भक्तजनहरूलाई निःशुल्क रूपमा उपचार सेवा प्रदान गर्ने गरी बडीमालिका मन्दिर,त्रिवेणी पाटन र बडीमालिका जाने बिच बाटोमा गरी तीन ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।
जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् साउन २३ गते चतुर्दशीका दिन लाग्ने पूजाको दर्शनका लागी गएका भक्तजनहरू बिरामी भएका,लेक लागेका र सामान्य रूपमा रुघाखोकी, लागेकाहरूलाई निशुल्क स्वास्थ्य उपचार दिइएको इश्वरी बक्स गुल्म बाजुराका गुल्म पति सेनानी कृष्ण तिमिल्सेनाले बताए ।
गुल्म पती तिमिल्सिनाका अनुसार तीर्थयात्रामा गएका तीन जना जटिल बिरामीलाई उपचारका साथै उद्धार गरी घर फर्काइएको छ । भने ७ सय भन्दा बढी बिरामीलाई विशेषज्ञ चिकित्सक सहितको उपचार सेवा प्रदान गरिएको छ। समुन्द्री सतबाट उच्च स्थानमा रहेको बडिमालिका क्षेत्रमा लेक लाग्ने अक्सिजनको मात्रा कम हुने भएकोले यस्ता बिरामीहरूको आकस्मिक उपचारका लागि नेपालीले स्वास्थ्य शिविर सञ्चालन गरी उपचार गरिएको इश्वरी बक्स गुल्म बाजुराले जनाएको छ। इमरजेन्सी बिरामीका लागि अक्सिजन सहितको स्वास्थ्य शिविर सँगै नेपाली सेनाको हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको सेनानी तिमिल्सेनाले बताए।
नेपाली सेनाले बाटोमा हिँड्ने पैदल यात्रीका लागि बाटो सम्बन्धी जानकारी खानेपानी,टेन्ट , अस्थायी शौचालय लगायतको समेत व्यवस्थापन गरेको छ । भने बडीमालिका मेला अवधिभर शान्ति सुरक्षा,भीड व्यवस्थापन , र मेला सम्पन्न पश्चात् बडीमालिका सफाइ अभियान सञ्चालन गरिने कार्यक्रम रहेको गुल्म पति कृष्ण तिमिल्सेनाले जानकारी दिए ।