अहिले धेरै आमाबुवाका लागि टाउको दुखाई बनेको छ, बच्चाको अनिन्द्रा । राती अबेरसम्म बच्चा नसुत्ने, सुत्नुअघि झगडा गर्ने, निदाउन नसक्ने, निदाएपनि बेलाबेला ब्यूँझने जस्ता समस्या धेरैले झेलिरहेका होलान् । अहिले बच्चाहरुमा पनि तनाव, चिन्ता, डिप्रेसन देखिएको छ । खासगरी पढाई, बिद्यालय, होमवर्क, साथीहरुको व्यवहार, पारिवारिक वातावरण आदिले उनीहरुमा चिन्ता थपिएको छ । यहि कारण उनीहरुको रातको निन्द्रा बिथोलिएको छ । तर, यसले बच्चाको शारीरिक/मानसिक विकासमा अवरोध पैदा गरिदिएको छ ।
विगतमा जस्तो बच्चालाई लोरी सुनाएर सुताउने आमाबुवासँग समय छैन । उनीहरु कामधन्दामै यति व्यस्त छन् कि, बच्चाको लागि कुनै समय छैन । त्यसैले बच्चाको झै-झमेलाबाट उम्कनका लागि उनीहरुले बच्चाका लागि खेलौनाको जोरजाम गरिदिएका छन् । टेलिभिजन, इन्टनेट, मोवाइल, ट्याबलेट सबै सुविधा उपलब्ध गराइदिएका छन् । यहि साधनबाट बच्चाले आफ्नो मन बहलाउने गरेका छन् ।
निद्रा समस्या हुने कारणहरू
- तनाव, डरलाग्दो घटना
- अनियमित निद्रा तालिका
- फोन, टिभी, कम्प्युटरको प्रभाव
- खराब सुत्ने वातावरण (धेरै उज्यालो, आवाज)
- फिजिकल समस्या (जस्तै सास फेर्नमा समस्या)
- मानसिक स्वास्थ्य समस्या
के गर्ने ?
- नियमित निद्रा तालिका बनाउने
- दिनभरि शारीरिक गतिविधि बढाउने
- सुत्ने समय अघि इलेक्ट्रोनिक उपकरणको प्रयोग कम गर्ने
- सुत्नुअघि हल्का खाजा दिने
- फोन, टिभी, कम्प्युटर धेरै हेर्न नदिने
- शान्त र आरामदायी सुत्ने वातावरण तयार गर्ने
- तनाव कम गर्ने उपाय अपनाउने
- बच्चासँग कुरा गर्ने, उसका मनका कुरा सुने
- यदि शारीरिक समस्या छ भने चिकित्सकलाई देखाउने
कहिले जाने चिकित्सककहाँ ?
बच्चाको दिनचर्या वा सुत्ने बानीमा परिवर्तन गरेर पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ । घरको माहौल शान्त, प्रेममय राख्ने । राती छिटै सुत्ने, सुत्नुअघि कथा, गीत सुनाउने गर्दा पनि बच्चा निदाउन सक्छन् । तर, अनेक प्रयास गर्दा पनि बच्चा निदाउन नसकेमा चिकित्सककहाँ पुर्याउनुपर्छ । किनभने यो समस्यालाई बेवास्ता गरिएमा त्यसले जटिल समस्या ल्याउन सक्छ ।