काठमाडौँ । मध्यपुर थिमि नगरपालिकाले निःशुल्क रगत वितरणलाई निरन्तरता दिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग सम्झौता नवीकरण गर्दै नगरवासीलाई निःशुल्क रगत तथा रक्ततत्व वितरणलाई निरन्तरता दिने भएको हो ।
मध्यपुर थिमि नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाबिच पहिलो पटक २०७९ साउन ४ गते निःशुल्क रगत तथा रक्ततत्व प्रदान गर्नेबारे सम्झौता भएको हो । आर्थिक वर्ष २०८१/८२ मा ४७९ जनाले ८१४ पिन्ट रगत तथा रक्ततत्व लिएका थिए ।
बिरामीको जीवन बचाउन आवश्यक रगतसमेत शुल्क तिरेर लिनुपर्ने बाध्यता रहेकाले नगरवासीको सर्वसुलभ र निःशुल्क रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार रक्षाका लागि रेडक्रससँग सम्झौता गरी निःशुल्क रगत वितरण गरेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।