गण्डकी । पछिल्ला दुई सातामा पोखरा महानगरपालिकामा १२९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका छन् । यही साउन १० गतेसम्ममा ३०३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा आइतबार उक्त सङ्ख्या वृद्धि भइ ४३२ पुगेको हो ।
प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुस यता मनाङबाहेक प्रदेशका १० जिल्लामा कूल ८११ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । प्रदेश राजधानी पोखरा गत वर्ष डेङ्गीको ‘हटस्पट’ बनेको थियो । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रमणको दर बढ्न सक्ने अनुमान गरिएको छ ।
गत वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण थिए भने तीन जनाको मृत्यु भएको थियो । गण्डकी प्रदेशमा हालसम्म सबैभन्दा बढी कास्कीमा ४४१, तनहुँमा १२०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको हो । कास्कीमा सङ्क्रमण पुष्टि भएका ४४१ मध्ये ४३२ जना पोखरा महानगरपालिकाका हुन् ।