भक्तपुर । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपालमा आवश्यकताको २० प्रतिशत पनि अङ्गदान हुन नसकेको बताए ।
विश्व अंगदान दिवसको अवसरमा आज शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले आवश्यकता अनुसार अङ्ग प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउनुपर्नेमा जोड दिए । भारतमा खुलेआम अङ्ग बेचबिखन भएपछि भारतले कडाई गरेको बताउँदै मन्त्री पौडेलले अङ्गदानका क्षेत्रमा चेतना विस्तार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
स्वास्थ्य मन्त्री पौडेलले बिमासँग बिपन्नबर्ग जोडियो भने प्रत्यारोपण सुविधा रु ९ लाख सम्म पुग्ने बताउँदै बिमामार्फत जटिल रोगको उपचारमा राज्यले सुविधा थप्दै जाने र अंगदान गर्नेलाई निःशुल्क बिमा गर्न सकिने बताए।
अङ्ग प्रत्यारोपणको छुट्टै प्रतिष्ठान हुनुपर्नेमा जोड दिँदै उनले सबै सङ्घीय अस्पतालको क्षमता तीन गुना बढाएर सबैलाई कम्तीमा ५०० बेड बनाउनुपर्नेतर्फ सरकारले पहल गरिरहेको बताए ।
क्यान्सरको समेत छुट्टै प्रतिष्ठान बनाउनुपर्छ भन्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पतालमा पेटस्कानको व्यवस्था यो वर्षबाट गर्न लागिएको बताए ।मन्त्री पौडेलले जनस्वास्थ्य नियमावलीमा टेकेर आइभिएफको निर्देशिका आज जारी हुन लागेको जानकारी दिए ।
कार्यक्रममा सङ्घीय सांसद दुर्लभ थापा र प्रेम सुवालले केन्द्रको क्षमता विकास गर्दै अझ व्यवस्थित रूपमा अगाडी बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले कलेजो र मिर्गौला प्रत्यारोपणका क्षेत्रमा केन्द्रले उल्लेखनीय काम गरेको भए पनि आफ्नै व्यवस्थित भवन नहुँदा अझै सोचे र चाहेजस्तो काम गर्न नसकेको बताए ।
कार्यक्रममा मस्तिष्क मृत्युबाट प्राप्त व्यक्तिको अङ्ग दानबाट नयाँ जीवन पाएका शिव महर्जनले प्रेरणादायी अनुभव सुनाए।