मकवानपुर- चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस (MBBS) पढाउनका लागि ५० सिटको स्वीकृति दिएको छ ।
प्रतिष्ठानमा यसअघि नै विभिन्न स्नातक तहका कार्यक्रम सञ्चालनमा छन् । बीएससी नर्सिङ कार्यक्रमको क्षमता यस वर्ष २० सिटबाट बढाएर ३० सिट पुर्याइएको छ । मेडिकल ल्याब टेक्नोलोजी (BMLT) र पब्लिक हेल्थ (BPH) कार्यक्रम भने २०–२० सिटमै कायम रहेका छन् ।
यस्तै, ब्याचलर अफ फार्मेसी (B–Pharmacy) कार्यक्रम पनि ३० सिटकै संरचनामा निरन्तर सञ्चालन हुनेछ । यससँगै प्रतिष्ठानले स्नातकोत्तर तहमा यसै शैक्षिक वर्षदेखि एमडी (MD) को सात विषयमा अध्ययन सुरु हुने भएको छ । जसका लागि ८ सिट स्वीकृत भएको छ ।
स्त्री तथा प्रसूति विभागमा २ सिट, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक सिटको व्यवस्था गरिएको छ ।
स्वीकृत सिट संख्या वृद्धि र नयाँ कार्यक्रम थपिनुले प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र अनुसन्धानको केन्द्रको रूपमा स्थापित गर्ने बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको भनाइ छ । उनका अनुसार, प्रतिष्ठानले स्वास्थ्य शिक्षा विस्तारसँगै विशेषज्ञ चिकित्सक उत्पादन, गुणस्तरीय उपचार सेवा र आधुनिक अनुसन्धान प्रवद्र्धन गर्दै आएको ।
प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीका अनुसार, हेटौंडा अस्पतालमार्फत हाल दैनिक १ हजार ५ सय भन्दा बढीले उपचार सेवा लिइरहेका छन् । छिमेकी प्रदेशका बिरामी पनि यहाँ उपचारका लागि आउने गरेको उल्लेख गर्दै उनले प्रतिष्ठानबाट दीर्घकालमा देशभरका नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे ।
२०७६ मा बागमती प्रदेशसभाबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित भएपछि, २०७७ साउन १५ मा उपकुलपति र भदौ १५ मा अन्य पदाधिकारी नियुक्त गर्दै प्रतिष्ठानले औपचारिक रूपमा काम प्रारम्भ गरेको हो। प्रतिष्ठानलाई प्रदेश गौरव आयोजनाका रुपमा राखिएको छ ।