नेपालगञ्ज । आर्थिक वर्ष २०८१/०८२ मा औषधि व्यवसायी विरुद्ध १७ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन् ।
औषधि ऐन २०३५ विपरीतको कार्य गरेपछि उनीहरू विरुद्ध अदालतमा मुद्दा दायर गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जले जनाएको छ । औषधि चोरीपैठारी गरी नेपालमा ल्याउने, नेपालमा दर्ता नभएका औषधि सञ्चय गर्ने, व्यवसायीको अनुपस्थितिमा औषधि विक्री वितरण गरेको पाइएपछि उनीहरू विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको वरिष्ठ औषधि व्यवस्थापक निनु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बाँकेका ८, दाङ, बर्दिया, जाजरकोट, कैलाली, डडेलधुरा, बझाङमा १/१ र कञ्चनपुरमा ३ जना औषधि व्यवसायी विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । गत आर्थिक वर्षमा ७ वटा मुद्दा दर्ता भएका थिए । त्यसैगरी औषधि पसलहरूको अनुगमनका क्रममा व्यवसायी उपस्थित नभएको, म्याद नाघेका औषधि पसलमा भेटिएको, लागु तथा मनोविपद औषधिको अभिलेख नराखेको पाइएपछि १३ वटा पसल शील तथा निलम्बन गरी कारबाही गरिएको छ । गत आर्थिक वर्षमा ४३ औषधि पसललाई शील तथा निलम्बन गरी कारबाही गरिएको थियो ।
६ महिनासम्म पसल शील गर्ने अधिकार विभागलाई छ । तर, कसुरका आधारमा ४५ दिनसम्म औषधि पसलहरू शील गर्ने र निलम्बन गर्ने गरिएको पाइएको छ । विभागले बाँकेका ७, कैलालीका २, बर्दियाका ३ र सल्यानका १ गरी १३ औषधि व्यवसायीलाई निलम्बन गरिएको जानकारी दिएको छ । उनीहरुलाई औषधि ऐन २०३५ अनुसार कारबाही गर्ने गरिएको छ । श्रेष्ठका अनुसार व्यवसायी अनुपस्थित भएर औषधि विक्री वितरण गर्ने समस्या बढी छ । ‘हामीले व्यवसायीहरूलाई पटक–पटक सचेत पार्ने काम पनि गरेका हुन्छौँ,’ उन भने–‘तर, अटेरी गर्ने प्रवृत्ति बढी छ ।’ विभागको उपस्थिति बलियो भएको ठाउँमा समस्या कम हुँदै गएको अनुभव उनको छ ।
औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जले लुम्बिनी प्रदेशका ६ जिल्ला बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्युठान र रोल्पासहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्ला गरी २५ जिल्लाका औषधि पसलहरूको अनुगमन निरीक्षणको जिम्मेवारी पाएको छ । शाखामा ५ हजार ९६ फार्मेसी दर्ता भएका छन् । अहिले ३ हजार ५ सय ९ वटा मात्रै सञ्चालनमा छन् । १ हजार ४ सय २७ वटा दर्ता भए पनि सञ्चालनमा नरहेको श्रेष्ठको भनाई छ । विभागले ती फार्मेसीमध्ये आर्थिक वर्ष २०८१/०८२ मा केवल ४ सय मात्रै अनुगमनको लक्ष्य नेपालगञ्ज शाखालाई तोकेको थियो ।
शाखाले भने ६ सय ७७ वटा फार्मेसी पसलको अनुगमन तथा निरीक्षण गरेको छ । त्यसैगरी ८ वटा औषधि उद्योगको अनुगमन गर्ने लक्ष्य पाएको शाखाले ८ वटै उद्योगको अनुगमन गरेको जनाएको छ ।