रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले रात्रिकालीन स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन विशेष पहल थालेको छ । अबदेखि रातको समयमा आकस्मिक उपचारदेखि अन्य जटिल खालका सेवामा सहजता ल्याउन अस्पतालले छुट्टै ड्युटी अफिसर तोक्ने व्यवस्था गर्न लागेको हो ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.इन्द्र ढकालका अनुसार भदौ ८ गतेदेखि लागू हुने यो व्यवस्थाअनुसार, प्रत्येक दिन राति ८ बजेदेखि बिहान ८ बजेसम्म फरक–फरक कर्मचारीलाई ड्युटी अफिसरको जिम्मेवारी दिइनेछ । उनीहरूले आकस्मिक कक्ष तथा मेडिकल वार्डमा भर्ना भएका बिरामीको उपचार व्यवस्थापन, समन्वय र निगरानी गर्ने जिम्मा पाउनेछन्। साथै, रातभरको उपचार गतिविधि र सेवासम्बन्धी विवरण अस्पताल प्रशासनलाई प्रतिवेदन गर्ने व्यवस्था गरिएको छ ।
“२४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको भए पनि रातको समयमा जटिल खालका उपचार, विशेषज्ञसँगको परामर्श र व्यवस्थापनमा देखिने चुनौतीलाई सहज बनाउन ड्युटी अफिसरको व्यवस्था गरिएको हो । सम्भवतः सरकारी अस्पतालमै यो पहिलो अभ्यास हुनेछ” डा। ढकालले भन्नुभयो ।
लुम्बिनी प्रादेशिक अस्पताल दैनिक करिब २ हजार बिरामीले उपचारका लागि आउने प्रदेशकै ठूलो अस्पताल हो । पछिल्लो तथ्याङ्कअनुसार, गत वर्ष मात्र ३ लाख ४८ हजार ९७१ जनाले ओपिडी सेवा लिएका थिए भने ७२ हजार २४४ जनाले आकस्मिक सेवा प्रयोग गरेका थिए ।
यस्तो भीडबिच रात्रिकालीन समयमा बिरामी र आफन्तले भोग्ने समस्या, समन्वय अभाव र व्यवस्थापनका कमजोरीलाई कम गर्न यो नयाँ कदम चालिएको हो । ड्युटी अफिसर प्रणाली अन्तर्गत, रातमा बिरामीले समस्या परेमा सिधै ९८६७००४४२२ नम्बरमा फोन गरेर ड्युटी अफिसरसँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ । यसले आकस्मिक समयमा बिरामी र आफन्तलाई तत्काल मार्गदर्शन तथा सहयोग पाउने अपेक्षा गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठका अनुसार, सीमित जनशक्ति र स्रोत साधनलाई अधिकतम उपयोग गर्दै गुणस्तरीय सेवा दिन निरन्तर सुधारका अभियान सञ्चालन भइरहेको छ । लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवामा विविध सुधारका कार्यक्रम ल्याउँदै आएको छ । विशेषज्ञ सेवा विस्तार, आकस्मिक कक्षको स्तरोन्नति, सुविधा सम्पन्न उपकरण थप्ने लगायतका कदमसँगै अब रात्रिकालीन सेवामा छुट्टै ड्युटी अफिसर राख्ने अभ्यासले सरकारी अस्पतालमै नयाँ उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।