काठमाडौँ । डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सुरु भएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डडेल्धुरा अस्पतालमा सुरु भएको डायलाइसिस सेवाको बिहीवार उद्घाटन गरेका छन्। सङ्घीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सञ्चालन भएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका मिर्गौलाका बिरामीलाई धनगढी धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।
कार्यक्रममा मन्त्री पौडेलले अस्पताल व्यवस्थापनदेखि स्वास्थ्य बीमा, जनशक्ति र पूर्वाधारबारे आफ्नो धारणा राखे।मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डमार्फत डडेल्धुरा अस्पतालमा सेवा केन्द्र सञ्चालनमा समस्या आएको उल्लेख गर्दै सङ्घीय अस्पतालबाट प्रथम सेवा केन्द्र विन्दु उपलब्ध हुन नसक्ने प्रष्ट पारे।
डडेल्धुरा अस्पतालले स्वास्थ्य बीमावापत अझै दुई करोड पाउन बाँकी रहेको मन्त्री पौडेलले जानकारी दिए। उनले तीन सय शैययाका लागि दरबन्दी स्वीकृत भइसकेको बताए। आगामी एक वर्षभित्र डडेल्धुरा लगायतका सबै अस्पताललाई पाँच सय शैययामा विस्तार गरिने घोषणा गरे।