पिसाबको संक्रमण एकदमै कमन रोग हो, जुन महिला र पुरुष दुवैमा देखिन्छ । युरिनरी ट्र्याक्ट इन्फेक्सन पिसाब प्रणालीको संक्रमण हो जसमा मिर्गौला, मूत्रनली, मूत्राशय र मूत्रमार्ग समावेश हुन्छ । मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो । शरिरमा देखिने संक्रमणमा पिसाबको संक्रमण दोस्रो नम्बरमा पर्छ । यो प्राय पुरुषको तुलनामा महिलामा बढी हुने समस्या हो । तर, ६० वर्ष लागिसकेपछि पुरुषहरुमा पनि यो कमन नै हुन्छ । बारम्बार पिसाबको संक्रमण हुनु भनेको कुनै अन्य रोगको लक्षणसमेत हुन सक्छ ।
पिसाबको संक्रमणका कारण
मिर्गौला हुँदै पिसाबको थैली पिसाबको नली वा पिसाब आउने बाटोमा कहिँ पनि समस्या भयो वा अवरोध भयो भने पिसाब जमेर संक्रमण हुन सक्छ ।पुरुषहरूमा प्रोस्टेटको आकार बढ्ने भएकाले उनीहरूमा पिसाबको संक्रमण हुने गर्छ । अर्को भनेको पिसाब थैलीले राम्रो संग पिसाब फल्न नसकेको अवस्थामा पनि पिसाबको संक्रमण हुन्छ । यसका साथै रोग प्रतिरोधात्मक क्षमता कम हुनु, लामो समयसम्म पिसाब रोकेर राख्नु, क्याथेटर (पिसाबको पाईप) प्रयोग गर्ने बिरामी र व्यक्तिगत सफाइमा कमी आदि कारणले पिसाबको संक्रमण हुन्छ । त्यसैगरी मधुमेहका बिरामी, शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिस, मिर्गौला, पिसाबनली र पिसाब थैलीमा पत्थरी भएका व्यक्ति आदि पिसाब संक्रमणको उच्च जोखिममा हुन्छन्।
लक्षणहरू
पिसाब संक्रमणका लक्षणहरु मान्छे अनुसार भिन्न भिन्नै हुन सक्छन् ।
- पिसाब गर्ने बेलामा पोलेको अनुभव हुनु ।
- पटक–पटक पिसाब लागेको महसुस हुनु ।
- कहिले काहीँ पिसाबमा रगत देखापर्नु ।
- धेरै ज्वरो आउनु ।
- कोखा दुखने
- थोरै मात्र पिसाब आउने
पुरुषको तुलनामा महिलालाई किन पिसाबको संक्रमण धेरै हुन्छ ?
पुरुषको तुलनामा महिलाको मूत्रनली छोटो हुन्छ । सामान्यतया पुरुषको मूत्रनली १८ सेन्टिमिटरको हुन्छ भने महिलाको जम्मा ४ सेन्टिमिटरको हुन्छ । जसले गर्दा संक्रमण पैदा गर्ने ब्याक्टेरिया–भाइरसहरू मूत्राशयमा सजिलै पुग्छन् । छोटो समयमा नै इन्फेक्सन मूत्रथैली हुँदै मिर्गौलामा पनि पुग्छ । यौनांगको बनावट पनि पुरुषको तुलनामा महिलाको अलि फरक हुन्छ । बसेर पिसाब फेर्दा पनि शौचालयमा भएका कीटाणुहरूको संक्रमण महिलामा छिटो फैलन्छ ।
पिसाब आउने बाटो योनी र मलद्वारको नजिकै हुने भएकोले पनि यूरिन इन्फेक्सनको खतरा बढी हुने गरेको हो। यसका साथै गर्भवस्थामा रोग प्रतिरोधक क्षमता कम हुने, मेनोपोज पछि हर्मोनल स्टोजनहरू कम हुन्छ जस कारण पिसाबको संक्रमण हुने संम्भावना बढि हुन्छ ।
के यो संक्रमण यौन सम्पर्कसँग सम्बन्धित छ ?
पिसाब संक्रमण र यौन सम्पर्क बीच सम्बन्ध हुन्छ, विशेष गरी महिलाको हकमा । पिसाबको संक्रमण यौनजन्य रोग (STD) भने होइन। तर, यौन सम्पर्कले संक्रमण हुने सम्भावना बढाउँछ। भर्खर विवाह गरेका महिला शारिरीक सम्पर्कमा सक्रिय हुदाँ किटाणु बाहिरबाट भित्र पस्छन् र संक्रमण हुन्छ, जसलाई ‘हनिमुन सिस्टाइटिस’ पनि भनिन्छ। यसका कारण केही महिला अस्पतालमै भर्ना हुनुपर्ने अवस्थासम्म पुग्छन्। अर्को भनेको असुरक्षित यौन सम्पर्क वा नयाँ पार्टनर हुँदा body flora परिवर्तन कारण पनि संक्रमण हुने संम्भावना रहन्छ ।
उपचार
यसको लक्षण तथा संक्रमण आधारमा उपचार गरिन्छ । सुरुमा पिसाब संक्रमणका कारण थाहा पाउनु आवश्यक छ । यदि बिरामीको अवस्था गम्भीर छ ज्वरो धेरै नै आएको छ, प्रेसर एकदमै कम भएको छ भने यस्तो अवस्थामा एन्टिबायोटिक दिई बिरामीको अवस्था अलि सुधार गरि के कारणले इन्फेक्सन भएको हो पत्ता लगाई त्यसको उपचारतिर गइन्छ । यसकालागि विभिन्न जाँचहरू पिसाबको रुटिन जाँच, कल्चर र अल्ट्रासाउन्ड गरेर इन्फेक्सन कुन अवस्थामा भनेर पत्ता लगाइन्छ । आवश्यक पर्यो भने सिटी स्क्यान पनि गरी इन्फेक्सन कारण पत्ता लगाई उपचार गरिन्छ।
पिसाबको संक्रमणले हुने जटिलताहरु
सामान्यतया पिसाबको संक्रमण सजिलो उपचारले नै निको हुन्छ, तर उपचार नगरेमा वा बारम्बार दोहोरिँदा गम्भीर जटिलता निम्त्याउन सक्छ। पिसाब संक्रमण मिर्गौलासम्म नै पुगेको अवस्था भने मिर्गौलामा संक्रमण, मिर्गौला सुक्दै जाने, मिर्गौला फेल हुने हुन्छ भने इन्फेक्सन फैलिँदै गयो भने यसले मुटुमा तथा शरीरका अन्य अङ्गहरूमा पनि असर गर्छ। यसका साथै ज्वरो आउने, शरीर कमजोर हुने, महिला गर्भवती छ भने समयअगावै बच्चा जन्मिने वा कम तौलको बच्चा जन्मिने जस्ता जटिलता हुन सक्छ । यदि बिरामीको प्रतिरक्षा क्षमता कमजोर भएको तथा किटाणु शरीरभरि नै फैलिएको अवस्थामा प्राणघातक समेत हुन सक्छ ।
बच्ने उपाय
- पानी पर्याप्त पिउनु
- पिसाब रोकेर नराख्नु
- व्यक्तिगत सफाइमा ध्यान दिनु
- आहारमा ध्यान दिने
- प्रतिरक्षा क्षमता बढाउने
- मधुमेह नियन्तण गर्ने
- बर्षको एक पटक अल्ट्रासाउन्ड गर्ने
- नियमित व्यायम गर्ने
- बारम्बार समस्या हुनेले डाक्टरको सल्लाह अनुसार परीक्षणरऔषधि प्रयोग गर्ने
(न्यूरो कार्डियो एण्ड मल्टिस्पेशिलिटी हस्पिटलका कन्सल्टेन्ट युरोलोजिस्ट डा पुरुषोत्तम पराजुलीसँग शान्ति शर्माले गरेको कुराकानी आधारित् )