अहिलेका बालबालिकामा बदलिंदो जीवनशैलीका कारण मोटोपन (Obesity) को समस्या तीव्र रूपमा बढ्दै गएको छ। अहिलेको अवस्थामा यो कुरा दम्पतीका लागि टाउको दुखाईको विषय बनेको छ । मोटोपनले शरीरलाई भद्दा मात्र बनाउने होइन, अनेक रोग पैदा गर्छ । हरेक आमाबुवाको चाहना हुन्छ, आफ्नो बालबच्चा रुष्टपुष्ट (मोटो पुक्क परेको) हुन् भन्ने । मोटो बच्चा शारीरिक हिसाबले स्वस्थ हुन्छ भन्ने आम मानिसको बुझाइ छ । के मोटो पुक्क परेको बच्चा स्वस्थ हुन्छ ? मोटोपनले निम्त्याउने समस्याहरु ? र यसबाट बच्च्ने उपाय ? यसै बारेमा निसर्ग हस्पिटलका बालरोग विशेषज्ञ डा दिपक पौडेलसँग गरेको कुराकानी आधारित्स्
धेरैजसो बालबालिका मोबाइल, ट्याब जस्ता ग्याजेटमा समय बिताउँछन् । शारीरिक गतिविधिमा संलग्न हुँदैनन् । जसले गर्दा पनि उनीहरूको तौल अनियन्त्रित रूपमा बढ्दै जाने हुन्छ । पहिले बालबालिकामा ख्याउटे कुपोषण बढी देखिन्थ्यो भने अहिले मोटोपनका कारण लिभरसम्बन्धी समस्या, उच्च रक्तचाप (प्रेसर) र श्वासप्रश्वासका समस्या बढ्दै गएका छन्।
२ वर्षसम्मका बालबालिकामा मोटोपन छुट्याउन कठिन हुन्छ। त्यसपछि भने उमेर र लिङ्गअनुसार बीएमआई BMI (Body Mass Index) को आधारमा मूल्याङ्कन गरिन्छ। यदि बीएमआई ९०% भन्दा तल छ भने आत्तिनु पर्दैन् त्योभन्दा माथि ९०/९५ बढी तौल (Overweight) भनिन्छ भने ९५ भन्दा माथि मोटोपन (Obesity) भनेर छुट्याइन्छ ।
मोटोपन हुनुका मुख्य कारण
प्रमुख कारण खराब जीवनशैली र अस्वस्थ खानपान हो। वंशाणुगत वा हर्मोनको गडबडीका कारण, अत्यधिक गुलियो पेय पदार्थको सेवन, फास्ट फूडको लत, र शारीरिक गतिविधिको कमीका कारण बालबालिकाको तौल अनियन्त्रित रूपमा बढ्ने गरेको पाइन्छ। हाम्रो शरीरमा कार्बोहाइड्रेड, प्रोटिन फ्याट, भिटामिन सबै प्रकारको प्रोटिन तत्व आवश्यक हुन्छ । यदि शरीरमा आवश्यक पर्ने उक्त तत्वको सन्तुलन बिग्रिएको खण्डमा बालबालिकामा मोटोपनको समस्या निम्तिन्छ ।
1.शारीरिक गतिविधि कम हुनु
बाहिर खेल्ने, दौडने–उफ्रने बानी नहुँदा मोटोपन बढ्छ।
2. अस्वस्थ खानपान
जङ्क फुड र प्याकेजिङ खाना धेरै खानु मोटोपनको मुख्य कारण हो।
3. वंशाणुगत प्रभाव
आमाबाबु मोटो भए बालबालिकामा पनि मोटोपनको जोखिम बढी हुन्छ।
4. जिद्दी स्वभाव, स्क्रिन टाइम र इनडोर गेम
टिभी, मोबाइल तथा इनडोर गेममा धेरै समय सीमित हुँदा शारीरिक गतिविधि घट्छ। क्यालोरी बढी लिने तर फिजिकल एक्टिभिटी नहुँदा मोटोपन तीव्र रूपमा बढ्ने गर्छ।
5. तनाव र मानसिक समस्या
तनाव, आत्मविश्वासको कमी र डिप्रेसनले पनि मोटोपन बढाउन सक्छ।
घरमा पकाइएको स्वस्थकर खाना छाडेर बच्चाहरू जंक फूड, प्याकेज गरिएका पदार्थ र सडकका खाना खान रुचाउने प्रवृत्तिले उनीहरूलाई गम्भीर स्वास्थ्य समस्यामा पारिरहेको छ।
बालबालिकामा अत्याधिक मोटोपनले निम्त्याउने समस्याहरु
बालबालिकामा अत्याधिक मोटोपनले स्वास्थ्यमा गहिरो असर पार्छ। अत्याधिक मोटोपनले शारीरिक, मानसिक र सामाजिक सबै क्षेत्रमा समस्या निम्त्याउन सक्छ। यसले सासप्रश्वासमा समस्या ल्याउँछ, जसले गर्दा राति राम्रोसँग निन्द्रा नपुगी दिनभरि स्कूलमा ध्यान दिन नसक्ने, कक्षा र एक्टिभिटीमा सहभागिता कम हुने जस्ता समस्या उत्पन्न हुन्छ। मोटोपनका कारण फोक्सो, ढाड, घुँडा, खुट्टा र जोइन्टमा दुखाइ बढ्छ, मुटुरोग, उच्च रक्तचाप, कोलेस्ट्रोल वृद्धि र मधुमेहको जोखिम पनि बढाउँछ। कलेजोमा बोसो जम्ने (फ्याटी लिभर) समस्या, मानसिक तनाव, डिप्रेसन र आत्मविश्वास घट्ने जस्ता असर पनि देखिन्छ। त्यस्तै, कब्जियत र छालासम्बन्धी समस्या अन्य बच्चाभन्दा बढी देखिन्छ। यसैले समयमै स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र पर्याप्त निद्रा सुनिश्चित गर्नु अत्यन्त जरुरी हुन्छ।
स्क्रिन र जङ्क फुडबाट कसरि टाढा राख्ने ?
बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट टाढा राख्न तिमीले जबरजस्ती भन्दा पनि बिस्तारै बानी परिवर्तनमा ध्यान दिनुपर्छ। घरमा मोबाइल, टिभी हेर्ने समय निश्चित गर र खाना खाँदा वा सुत्नु अघि स्क्रिन प्रयोग नगर्ने नियम बनाऊ। स्क्रिनको सट्टा बाहिरी खेल, दौडधुप, साइकल चलाउने, चित्र कोर्ने वा किताब पढ्ने जस्ता गतिविधिमा बच्चालाई सहभागी गराऊ, ताकि उसले स्वाभाविक रूपमा मोबाइलबाट ध्यान हटाओस्।
अर्को भनेको जङ्क फुडबाट टाढा राख्न सबैभन्दा प्रभावकारी उपाय भनेको त्यस्ता खानेकुरा घरमै नल्याउनु हो। भोक लाग्दा चिप्स वा चाउचाउको सट्टा फलफूल, भुटेको मकै, बदाम, दहीजस्ता स्वस्थ विकल्प देऊ। यसमा तिमी स्वयं उदाहरण बन्नु निकै महत्वपूर्ण हुन्छ, किनकि अभिभावकको व्यवहार नै बच्चाले नक्कल गर्छ। साथै, जङ्क फुड र अत्याधिक स्क्रिनले शरीरमा पार्ने असर सरल भाषामा बुझाइदेऊ। एक्कासि रोक लगाउने होइन, समय र मात्रा बिस्तारै घटाउँदै लैजाँदा बच्चाले सहज रूपमा स्वस्थ बानी अपनाउँछ।
कसरि बचाउने
- जङ्क फुड कम, घरको स्वस्थकर खाना, फलफूल, क्याल्सियम र फाइबर बढी खुवाउने
- प्रोटिनयुक्त दूध, दही, घिउ सन्तुलित खुवाउने
- दैनिक १ घण्टा आउटडोर खेलकुद, नृत्य, योगा, घरमै नाच वा करेसाबारीमा काम गराउने
- मोबाइलरटिभी स्क्रिन समय १–२ घण्टा सीमित गर्ने
- खाना समयमै, परिवारसँगै बसेर खाने बानी बसाल्ने
- अभिभावक स्वयं रोल मोडल, स्वस्थ बानी अपनाउने
- पर्याप्त निद्रास् ६–७ घण्टा निद्रा पाउने वातावरण बनाउने
- बिस्तारै खराब बानी सुधार्दै स्वस्थ बानी बसाल्ने
- चिनीयुक्त पेय वा कोल्ड ड्रिङ्क कम, पर्याप्त पानी पिउन प्रेरित गर्ने
- बच्चा जन्मिएको एक घण्टाभित्रदेखि ६ महिनासम्म नियमित स्तनपान गराउने
- विद्यालय र घर दुवैमा स्वस्थ खानपान र सक्रियतामा ध्यान दिने, कार्बोनेटयुक्त वा चिनीयुक्त खाद्यान्न कम गर्ने
- अत्यधिक तौल भए चिकित्सकसँग परामर्श गर्ने