मौसम बद्लिँदै जाँदा विभिन्न रोगको संक्रमण हुने सम्भावना पनि बढ्ने गर्छ। तर चिकित्सकहरू भन्छन्—आत्तिनु पर्दैन, केही सावधानी अपनाए जाडोयाममा लाग्ने धेरैजसो रोगबाट बच्न सकिन्छ। जाडो मौसममा देखिने सामान्य रोगहरूमध्ये टाँन्सिल्स पनि एक हो, जुन विशेषगरी केटाकेटीमा बढी देखिन्छ। यो रोग ब्याक्टेरिया वा भाइरस संक्रमणका कारण हुने गर्दछ। टाँन्सिल्स हुँदा घाँटी दुख्ने, खाना खान र बोल्न गाह्रो हुने तथा ज्वरो आउने जस्ता लक्षण देखिन्छन्।
जनरल फिजिसियन डा. धर्मेन्द्र पाण्डेका अनुसार जाडो महिनामा घाँटी र फोक्सोसम्बन्धी रोग बढी देखिने गर्छन्।
डा. पाण्डेका अनुसार, “सामान्य भाषामा भन्नुपर्दा शरीरमा कुनै किटाणुले संक्रमण गरे त्यसलाई रोग भनिन्छ। जाडोयाममा टाँन्सिल्स, दम, सिओपीडीजस्ता रोग बढी देखिन्छन्।”
टाँन्सिल्स रोग हो कि संक्रमण ?
टाँन्सिल्स घाँटीमा हुने संक्रमण हो। यो मुख्यतः चिसो मौसममा देखिने समस्या भए पनि वातावरणीय प्रदूषणका कारण पनि हुन सक्छ। यो ग्रुप–बी स्ट्रेप्टोकोकस नामक किटाणुका कारण हुने संक्रमण हो। यद्यपि यो सरुवा रोग भने होइन। ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा यो समस्या बढी देखिने गर्छ।
टाँन्सिल्सका लक्षण
सुरुमा घाँटी दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छन्। २४ घण्टासम्म ज्वरो सामान्य भए पनि घाँटी धेरै दुख्ने, खसखस हुने, चिलाउने तथा निल्न गाह्रो हुने समस्या देखिन्छ। यदि समयमै उपचार गरिएन भने किटाणु रगतमा प्रवेश गरी ज्वरो उच्च हुन सक्छ।
जाडोयाममा किन बढी देखिन्छ ?
डा. पाण्डेका अनुसार जाडो मौसममा किटाणु छिटो नमर्ने भएकाले संक्रमणको जोखिम बढ्छ। साथै प्रतिरक्षा शक्ति कमजोर भएका व्यक्तिमा टाँन्सिल्स छिटो देखिन्छ।
जाडोयाममा बढी दही, मोही, केरा तथा बाहिरको खाना सेवन गर्ने व्यक्तिमा पनि यो समस्या देखिने गरेको उहाँ बताउनुहुन्छ।
कहिले सर्जरी आवश्यक हुन्छ ?
पटक–पटक टाँन्सिल्स हुने र एन्टिबायोटिक खाँदा पनि निको नहुने अवस्थामा सर्जरी आवश्यक पर्न सक्छ। सर्जरी गरेपछि पनि केही व्यक्तिमा पुनः टाँन्सिल्स देखिन सक्ने चिकित्सकको भनाइ छ।
सर्जरीपछि जोखिम हुन्छ ?
सर्जरीको क्रममा सास फेर्न असजिलो, रगत बग्ने वा आवाज कमजोर हुने जस्ता समस्या देखिन सक्ने भए पनि गम्भीर जटिलता भने दुर्लभ हुने डा. पाण्डे बताउनुहुन्छ।
जाडोयाममा रोगबाट बच्ने उपाय
- चिसोबाट जोगिनु
- अत्यधिक चिसो बिहान बाहिर ननिस्कनु, घरमै व्यायाम गर्नु
- चिसो पानी नपिउनु
- जाडोमा दही, मोही, केरा कम गर्नु
- मुख सरसफाइमा ध्यान दिनु, नियमित ब्रस गर्नु
- घर वरपर सफा राख्नु
चिकित्सकहरूका अनुसार समयमै सावधानी अपनाए जाडोयाममा हुने धेरै रोगबाट सजिलै बच्न सकिन्छ।