काठमाडौं । प्रजनन् उमेरका महिलामा सामान्य रूपमा सेतो पानी बग्नु स्वाभाविक प्रक्रिया हो। महिलाको योनिबाट सेतो, पहेंलो वा कहिलेकाहीँ गाढा तरल पदार्थ निस्कनुलाई सेतो पानी बग्नु वा लिकोरिया (Leucorrhoea) भनिन्छ। सामान्य अवस्थामा अलिकति सेतो पानी निस्कनु शरीरको प्राकृतिक सफाइ प्रक्रिया हो र यसलाई रोग मानिँदैन। महिनावारी हुने समय नजिकिँदा, गर्भावस्थामा वा यौन उत्तेजनाका बेला सेतो पानीको मात्रा बढ्न सक्छ, तर यसमा दुर्गन्ध, चिलाउने वा जलन हुँदैन।
तर कहिलेकाहीँ सेतो पानी बग्नु सामान्य नहुन सक्छ। यदि सेतो पानी अत्यधिक मात्रामा बग्ने, गन्हाउने, पहेंलो वा हरियो रङको देखिने, दहीजस्तो हुने, चिलाउने, पोल्ने वा दुखाइ गराउने भएमा योनीमा संक्रमण वा अन्य स्वास्थ्य समस्याको संकेत हुन सक्छ। यस्तो अवस्थामा तुरुन्तै स्वास्थ्य परीक्षण गराउनु आवश्यक हुन्छ। विशेष गरी साना बालिकामा सेतो पानी बग्नु देखिएमा यसलाई असामान्य मानिन्छ र संक्रमणको सम्भावना भएकाले उपचार अनिवार्य हुन्छ।
अस्वाभाविक रूपमा सेतो पानी बग्नुका विभिन्न कारण हुन सक्छन्। पाठेघरको मुखमा घाउ लाग्नु, मासु पलाउनु, पाठेघर झर्नु (आङ खस्नु), पाठेघर पछाडि फर्किनु, यौनाङ्गमा बाह्य वस्तु अड्किनु वा लामो समयसम्म अन्य रोगका कारण कमजोर हुनुले पनि यस्तो समस्या देखिन सक्छ। साथै हार्मोनको असन्तुलन, महिनावारी गडबडी, थाइराइड समस्या, गर्भनिरोधक औषधिको असर तथा अस्वस्थ जीवनशैली पनि सेतो पानी बग्ने प्रमुख कारण हुन्।
अस्वस्थ खानपान र सरसफाइको कमीले पनि यो समस्या बढाउन सक्छ। अत्यधिक चिल्लो, मसालेदार तथा जंक फुड सेवन गर्नु, चिसो पदार्थ धेरै खानु, टाइट र सिंथेटिक कपडा लगाउनु तथा योनीको सरसफाइमा लापरवाही गर्दा संक्रमणको जोखिम बढ्छ। सरसफाइ गर्ने नाममा प्रत्येक पटक पिसाब फेरेपछि योनी धुने बानी वा कहिल्यै नधुने दुवै अवस्थाले पनि संक्रमण गराउन सक्छ।
उपचारको कुरा गर्दा, सामान्य सेतो पानी बग्नु चिन्ताको विषय होइन। महिनावारी भएको समयमा प्रयोग गरिने प्याड वा कपडा सफा नभए संक्रमण बढ्न सक्ने भएकाले छिटो–छिटो फेर्नुपर्छ र सुती कपडाको भित्री पहिरन प्रयोग गर्नुपर्छ। यदि सेतो पानी क्यान्डिडा, क्लामाइडिया, ट्राइकोमोनास वा मधुमेहजस्ता कारणले भएको हो भने महिलासँगै उनका यौन साथीले पनि उपचार गर्नुपर्छ। लक्षण असामान्य देखिएमा ढिला नगरी चिकित्सकको सल्लाह लिनु नै सुरक्षित उपाय हो।