काठमाडौँ । ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण आज (१७ गते) देखि काठमाडौंमा सुरु भएको छ । स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको आयोजनामा भृकुटीमण्डप प्रदर्शनी स्थलमा नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो सुरु भएको हो ।
तीन दिनसम्म चल्ने एक्स्पोमा नेपाल, भारतसहित विभिन्न देशका ४ सय ७५ भन्दा बढी प्रदर्शक सहभागी छन् भने स्वास्थ्य सेवा र प्रयोगशाला विज्ञानका नवीनतम प्रविधि, उपकरण तथा समाधानहरुलाई नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गरिने केमसानका अध्यक्ष भक्त हमाल जानकारि दिए।
उनका अनुसार यस प्रदर्शनीले स्वास्थ्य सेवा, औषधि उद्योग तथा अनुसन्धान संस्थाहरूले प्रयोग गर्दै आएका सामग्रीबारे जानकारी दिनेछ। साथै, यसले नयाँ प्रविधि र उत्पादनबारे जानकारी मात्र नभई क्रेता र आपूर्तिकर्ताबीच व्यापार विस्तारको अवसर समेत सिर्जना गर्ने विश्वास गरिएको छ।
एक्स्पोको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले स्वास्थ्यसम्बन्धी नयाँ प्रविधिका बारेमा जानकारी गराउन आयोजना गरिएको प्रदर्शनी निकै महत्वपूर्ण रहेको धारणा व्यक्त गरे।
उक्त एक्स्पोमा अस्पताल, नर्सिङ होम, डायग्नोस्टिक सेन्टर, औषधि कम्पनी, अनुसन्धान संस्था, विश्वविद्यालय, मेडिकल कलेज, ब्लड बैंक तथा खाद्य तथा सामग्री परीक्षण प्रयोगशालासँग सम्बन्धित स्टल राखिएको समेत आयोजकले जानकारी दिएको छ । त्यसैगरी, यस प्रकारको अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीले स्वास्थ्य क्षेत्रको आधुनिकीकरण, प्रविधि हस्तान्तरण तथा व्यवसायिक प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





