बाजुरा । दुर्गम भौगोलिक अवस्थाका कारण आधारभूत स्वास्थ्य सेवा पहुँचबाहिर रहेको हिमाली जिल्ला बाजुरामा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई उद्धार सेवा प्रभावकारी बन्दै गएको छ । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि यो सेवा जीवनदायी बनेको छ ।
२०७७ सालदेखि हालसम्म बाजुराबाट ३८ जना गर्भवती तथा सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए। जटिल प्रसूति समस्या भएका बिरामीलाई काठमाडौँ, सुर्खेत, धनगढी र नेपालगञ्जका सुविधा सम्पन्न अस्पतालमा लैजान हवाई उद्धारले महत्वपूर्ण भूमिका खेलेको छ ।
उद्धार गरिएकामध्ये ३७ जनाले नयाँ जीवन पाएको तथ्यांकले सेवाको प्रभावकारिता देखाएको छ । स्थानीय तहमा स्वास्थ्य पूर्वाधार अभाव रहेकाले यस्तो सेवा अझै अपरिहार्य रहेको सरोकारवालाहरूको भनाइ छ ।