काठमाडौँ । गत साता अत्यधिक प्रदूषित बनेको काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा अहिले सुधार देखिएको छ। सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण वर्षासँगै घट्न थालेको हो।
गत साता एयर क्वालिटी इन्डेक्स (AQI) २४७ पुगेको थियो, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्थ्यो। हाल भने यो घटेर ७९ मा झरेको छ, जसलाई ‘मध्यम’ स्तर मानिन्छ। प्रदूषण घटेसँगै काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानबाट २६औँ स्थानमा झरेको छ।
वातावरण विभागका अनुसार वर्षा र हावाहुरीले धुलो तथा धुवाँ हटाउँदा वायु सफा भएको हो। लामो समय वर्षा नहुँदा धुलो थुप्रिनु, वन डढेलो बढ्नु र छिमेकी देशबाट आउने प्रदूषित हावाले काठमाडौँको वायु गुणस्तर बिग्रिएको थियो। सम्बन्धित निकायले दीर्घकालीन रूपमा प्रदूषण नियन्त्रणका लागि दिगो र वातावरणमैत्री उपाय लागू गर्नुपर्नेमा जोड दिइएको छ।