काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगातार तीन दिन सार्वजनिक बिदा परेका बेला पनि स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउने उद्देश्यले देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग ९ओपिडी० सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले वैशाख १८, १९ र २० गते लगातार बिदा पर्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । बिदाका कारण सामान्यतया अस्पतालहरूको ओपिडी सेवा बन्द हुँदा बिरामीले उपचार पाउन कठिनाइ भोग्ने, भीडभाड बढ्ने तथा आकस्मिक सेवामा अतिरिक्त चाप पर्ने देखिएकोले सेवा अवरोध हुन नदिन अग्रिम रूपमा निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार, “स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले बिदाका दिनमा समेत नागरिकलाई सहज रूपमा उपचार उपलब्ध गराउन ओपिडी सेवा खुला राख्न निर्देशन दिइएको हो ।” उनले सबै सरकारी अस्पताललाई आवश्यक जनशक्ति व्यवस्थापन गरी नियमित सेवाजस्तै ओपिडी सञ्चालन गर्न आग्रह गरिएको पनि बताए ।
विशेषगरी दीर्घरोगी, नियमित फलोअपमा रहेका बिरामी, जेष्ठ नागरिक तथा बालबालिकालाई लक्षित गर्दै यस्तो निर्णय प्रभावकारी हुने मन्त्रालयको विश्वास छ । बिदाको समयमा ओपिडी बन्द हुँदा धेरै बिरामी आकस्मिक कक्षमा पुग्ने र त्यहाँ अनावश्यक भीड बढ्ने समस्या पनि यसबाट न्यून हुने अपेक्षा गरिएको छ ।
मन्त्रालयले अस्पताल प्रशासनलाई सेवा प्रवाहमा कुनै पनि ढिलासुस्ती नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीको ड्युटी तालिका मिलाउन र आवश्यक औषधि तथा उपकरणको पर्याप्त व्यवस्था गर्न समेत निर्देशन दिएको छ । साथै, सेवाग्राहीलाई सहज पहुँच सुनिश्चित गर्न सूचना प्रवाहलाई पनि प्रभावकारी बनाउन भनिएको छ ।
स्वास्थ्य सेवा प्रणालीलाई नागरिकमैत्री र निरन्तर बनाउने लक्ष्यअनुसार मन्त्रालयले पछिल्ला दिनहरूमा सेवा व्यवस्थापनमा कडाइ गर्दै आएको छ । यसैक्रममा सार्वजनिक बिदामा समेत ओपिडी सेवा सञ्चालन गर्ने निर्णयलाई सेवा सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।