खोटाङ । खोटाङस्थित जिल्ला अस्पतालमै अब पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रियासहित उपचार सेवा सुरु भएको छ। सेवाको सुरुआतसँगै दुई महिलाको सफल शल्यक्रिया भइसकेको अस्पताल प्रमुख डा। अमिताब ठाकुरले जानकारी दिए। यससँगै उपचारका लागि काठमाडौँ वा विराटनगर जानुपर्ने महिलाको बाध्यता अन्त्य भएको छ।
डा। ठाकुरका अनुसार अस्पतालमा पाठेघर खस्ने समस्या मात्र नभई पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, बाँझोपनको उपचार र पहिलो पटक शल्यक्रियामार्फत सन्तान जन्माएका महिलाको दोस्रो पटक पनि शल्यक्रिया गर्ने सेवा सुरु गरिएको छ। निःशुल्क सेवा उपलब्ध भएपछि लामो समयदेखि पीडित महिलाहरू उपचारका लागि अस्पताल आउन थालेका छन्।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले आफ्नै स्रोत–साधन प्रयोग गरी गुणस्तरीय सेवा दिन थालिएको बताए। यसअघि शल्यक्रिया सेवा नहुँदा स्थानीय तहले महिलालाई बाहिरी जिल्लाका अस्पताल, जस्तै शिर मेमोरियल अस्पताल पठाउने व्यवस्था गर्दै आएका थिए। अब जिल्लामै सेवा सुरु हुनु खोटाङका महिलाका लागि ठूलो राहत भएको छ।