काठमाडौँ । सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अनिवार्य रूपमा लगाउन आग्रह गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. रमेशकान्त अधिकारीले भ्रामक सूचना र हल्लामा नलागी खोप लगाउन अभिभावक तथा समुदायलाई अनुरोध गर्नुभएको छ । उहाँका अनुसार एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त र औषधि व्यवस्था विभागबाट स्वीकृत सुरक्षित खोप हो ।
स्वास्थ्य मन्त्री डा। सुधा शर्माले नेपालमा दैनिक औसत ६ महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र ४ जनाको मृत्यु हुने तथ्य उल्लेख गर्दै एचपिभी खोपले जीवन रक्षा गर्ने बताएको छ । सरकारले करिब ३ लाख ५० हजार किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ २५ देखि फागुन १५ गतेसम्म देशभर कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई लक्षित गरी निःशुल्क खोप अभियान सञ्चालन गरिरहेको छ । गत वर्ष छुटेका कक्षा ७–१० तथा ११–१४ वर्षका किशोरी पनि यसमा समेटिएका छन् ।