काठमाडौँ । कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी (उनेपा)ले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । पार्टीले आईतबार आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्दै स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारका रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो ।
घोषणापत्रमा “निःशुल्क स्वास्थ्य सेवा अभियान” अन्तर्गत हरेक नागरिकलाई तोकिएको सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार उपलब्ध गराइने उल्लेख छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने पार्टीको लक्ष्य रहेको बताइएको छ ।
ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकका लागि मोबाइल क्लिनिक र टेलिमेडिसिन सेवा सञ्चालन गरिनेछ । कुपोषणबाट प्रभावित महिला तथा बालबालिकालाई लक्षित विशेष कार्यक्रममार्फत पोषण सुधार र नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिने उल्लेख छ ।
यसैगरी प्रत्येक वडामा मनोसामाजिक परामर्शदाता राखिने र प्रत्येक स्थानीय तहको स्वास्थ्य संस्थामा कम्तीमा एक जना हाडजोर्नी, स्त्रीरोग वा बालरोग विशेषज्ञ सेवा उपलब्ध गराइने प्रतिवद्धता गरिएको छ । पार्टीले स्वास्थ्य सेवामा पहुँच, गुणस्तर र समानता सुनिश्चित गर्ने जनाएको छ ।