काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य बीमा प्रणालीमार्फत नागरिकको उपचार र स्वास्थ्य सुरक्षाको जिम्मेवारी पूरा गर्ने संकल्प गरेको छ। कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनकपुरधाममा सार्वजनिक गरेको चुनावी प्रतिज्ञापत्रमा स्वास्थ्यलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको हो।
‘नेपाली कांग्रेसको ध्येय स् समुन्नत नेपाल, सम्मानित नेपाली’ नारासहित सार्वजनिक प्रतिज्ञापत्रको १० भिजन अन्तर्गत पाँचौँ बुँदामा ‘ओखती र ओत दिने नेपाल’ राखिएको छ। यसमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुने उल्लेख छ। परिवारमा कसैलाई रोग लागे उपचार खर्च र अस्पताल शुल्कको डरबाट नागरिकलाई मुक्त गराउने कांग्रेसको प्रतिबद्धता छ।
प्रतिज्ञापत्रमा स्वास्थ्य सेवा राज्यको परोपकार नभई उपचार नागरिकको मौलिक अधिकार भएको स्पष्ट गरिएको छ। विकसित देशस्तरको उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत हरेक नेपालीलाई औषधि र अस्पतालको ओत सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।
पार्टी सभापति गगनकुमार थापाले सार्वजनिक गरेको प्रतिज्ञापत्र आगामी पाँच वर्षका लागि कांग्रेसको नीति र कार्यदिशाको आधार भएको जनाइएको छ।
प्रतिज्ञापत्रको १० भिजन
१ सम्मानित भएर बाँच्न पाउने नेपाल
२ सपना देख्न सक्ने नेपाल
३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४ पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५ ओखती र ओत दिने नेपाल
६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८ मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल
९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१० समुन्नतिमा लम्किने नेपाल