काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूलाई सामाजिक सञ्जालमार्फत परीक्षण बिना औषधि सिफारिस नगर्न कडा निर्देशन दिएको छ।
काउन्सिलले टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता प्लेटफर्ममार्फत बिरामीको परीक्षण नगरी औषधि सिफारिस गर्ने, अनलाइन परामर्शका नाममा स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण गर्ने तथा उपचारसम्बन्धी सल्लाह दिने कार्य तुरुन्त बन्द गर्न आग्रह गरेको हो।
काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले प्रत्यक्ष परीक्षण र आवश्यक जाँचबिना औषधि सिफारिस गर्दा बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम, अनावश्यक जटिलता तथा दीर्घकालीन हानि हुन सक्ने चेतावनी दिएका छन्।
त्यस्तै, सामाजिक सञ्जालमा गैरजिम्मेवार तथा अवैज्ञानिक स्वास्थ्य सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्ने र गलत औषधि प्रयोगको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नगर्न चिकित्सकलाई निर्देशन दिइएको छ। काउन्सिलले बिरामीलाई पनि सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहका आधारमा औषधि प्रयोग नगरी दर्ता प्राप्त योग्य चिकित्सकसँग परामर्श गरेर मात्र उपचार लिन आग्रह गरेको छ।
साथै, बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न र आवश्यक परेमा पनि बिरामीको पहिचान र अनुहार गोप्य राख्न कडा निर्देशन दिइएको छ।
