मौसम परिवर्तनसँगै हिजोआज धेरैमा, घाँटी दुख्ने, घाँटी खस्खसाउने, खानेकुरा निल्न अप्ठ्यारो हुने, घाँटीभित्र रातो हुने जस्ता समस्या देखिने गर्दछ। घाँटी दुख्ने विभिन्न कारणमध्ये एउटा टन्सिलाइटिस हो । टन्सिलको समस्या सबै उमेर समूहका व्यक्तिलाई हुनसक्ने भए पनि यसबाट मुख्य प्रभावित हुने भनेको बालबालिका नै हो। टन्सिल के हो त ? बारम्बार टन्सिल संक्रमण हुँदा हुने जोखिम ? यसबाट कसरि बच्ने ? कस्ता अवस्थामा शल्यक्रिया गर्नुपर्छ? यसै बारेमा निसर्ग हस्पिटलका नाक, कान तथा घँटी रोग विशेषज्ञ डा. सुमन थापा संग गरेको कुराकानि
टन्सिल घाँटीको दुवै किनारामा रहेका प्रतिरक्षा प्रणालीका महत्त्वपूर्ण अंग हुन्। यसले शरीरमा प्रवेश गर्न आउने भाइरस, ब्याक्टेरिया तथा अन्य हानिकारक सूक्ष्मजीवलाई पहिलो चरणमै रोक्ने काम गर्छ। विशेषगरी बालबालिकामा प्रतिरक्षा क्षमता विकासमा टन्सिलको भूमिका निर्णायक मानिन्छ। मुख–घाँटी हुँदै लाग्न सक्ने संक्रमण पहिचान गरी शरीरलाई सतर्क गराउनु र संक्रमणको जोखिम घटाउनु यसको मुख्य दायित्व हो।
टन्सिल खासमा घाँटीभित्र रहने एक अंग हो, यो आफैंमा रोग होइन । तर जब यो संक्रमित हुन्छ अर्थात् सुन्निन्छ, त्यस स्थितिलाई ‘टन्सिलाइटिस’ भनिन्छ । जसलाई बोलीचालीमा ‘टन्सिल भएको’ भनिन्छ । टन्सिलले सामान्य अवस्थामा संक्रमण विरुद्ध सुरक्षात्मक काम गरे पनि यसको सूजन, संक्रमण बढ्नु वा असामान्य रूपमा आकार ठूलो हुनुजस्ता अवस्थाले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। यस्ता अवस्थालाई समयमै नचिन्दा समस्या जटिल बन्न सक्ने हुन्छ।
लक्षण
टन्सिल सम्बन्धी समस्या देखिँदा प्रायः निम्न संकेतहरू देखा पर्न सक्छन् :
- घाँटी दुख्ने
- निल्न गाह्रो हुने
- ज्वरो आउने
- बोली बदलिनु वा करकरी आवाज आउनु
- टन्सिलमा सेतोरखैरो दाग देखिनु
- मुख खोल्दा पीडा हुनु
- बालबालिकामा खाना खान नमान्ने वा झर्को मान्ने
बारम्बार टन्सिल संक्रमण हुँदा के हुन्छ ?
बारम्बार टन्सिल हुँदा र समयमा उपचार नगर्नाले शरीरमा दीर्घकालीन समस्या निम्तिन सक्छ । टन्सिल पाकेको अवस्थामा मुटुको भल्बहरुमा असर गरेर मुटुको भल्बमा समस्या भई बाथ, मुटुरोग तथा मिर्गौलामा समस्या हुन जान्छ । टन्सिलको समस्यालाई समयमै उपचार नगरे यसबाट श्वासप्रश्वासमा समस्या बढ्न थाल्छ।
टन्सिलमा बारम्बार समस्याको जोखिम निम्न कारण वा अवस्थासँग सम्बन्धित हुने गर्छ–
- घाँटीमा पटक–पटक संक्रमण हुने व्यक्ति
- प्रतिरक्षा शक्ति कमजोर हुने अवस्था
- धूलो–धुवाँ, चिसो पानी र चिसो वातावरणमा लगातार बस्ने बानी
- एलर्जी भएका व्यक्ति
- बालबालिका (प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विकसित नभएकाले)
- टन्सिल अत्यधिक ठूलो भई सास फेर्न कठिनाइ हुने सम्भावना
उपचार
टन्सिलको समस्या सुरुवाति अवस्थामा घरेलु उपाय नै सबैभन्दा प्रभावकारी मानिन्छ। सामान्य दुखाइमा मेडिकलबाट चिकित्सकको परामर्श बिना एन्टिबायोटिक खानु जोखिमपूर्ण हुन सक्छ, किनभने अनावश्यक औषधि सेवनले शरीरमा ब्याक्टेरियाको प्रतिरोधक क्षमता बढाउन सक्छ र अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ। यसको सट्टा नुनिलो पानीले घाँटी कुल्ला गर्नु, तातो पेय पदार्थ सेवन गर्नु र पर्याप्त आराम गर्नु लाभदायक हुन्छ।
टन्सिलको अवस्था हेरी मात्र चिकित्सकले आवश्यक परे एन्टिबायोटिक सिफारिस गर्न सक्छन्, तर कतिपयले आफूखुसी औषधि प्रयोग गर्ने गर्छन्, जुन हुँदैन। प्रारम्भिक लक्षण देखिनासाथ घरमै उचित उपचार गर्दा टन्सिलको जटिलताबाट बच्न सकिन्छ।
यदि लक्षण लामो समयसम्म रह्यो वा बारम्बार ज्वरो, टन्सिलमा पिप जम्ने, वा खानामा कठिनाइजस्ता समस्या देखा परेमा तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नु आवश्यक हुन्छ।
कस्ता अवस्थामा शल्यक्रिया गर्नुपर्छ ?
सामान्यतया टन्सिलको समस्या भाइरल संक्रमणका कारण हुन्छ, जुन प्रायः केही दिनदेखि एक–दुई हप्ताभित्रै आफैं निको हुने गर्छ । तर कतिपय अवस्थामा टन्सिलाइटिस आफैं ठीक नहुने र झन् बढ्दै जाने समस्या देखिन्छ । यस्तो अवस्थामा बारम्बार ज्वरो आउने, घाँटी दुख्ने र टन्सिलमा पिप जम्ने जस्ता लक्षण देखा पर्छन् ।
टन्सिल हटाउने शल्यक्रिया (Tonsillectomy) सामान्य अवस्थामा गरिँदैन। औषधिले काम नगरेका, समस्या धेरै पटक दोहोरिँदै जटिल बनेका वा अवस्था झनै बिग्रिएर जीवनशैली प्रभावित बनाएका परिस्थितिमा मात्र शल्यक्रिया सिफारिस गरिन्छ। यस्ता जटिल अवस्थामा शल्यक्रिया आवश्यक पर्न सक्छ । यस्तो अवस्था आउन नदिन सके सम्म चिसो खाने कुरा जस्तै कोल्ड ड्रिंक्स आइसक्रिम चिसो फ्रिज को पनि जस्ता कुरा उपभोग नगर्नु उपयुक्त हुन्छ।
टन्सिलबाट बच्ने उपाय
- टन्सिल भएमा तातो पानीको नियमित सेवन गर्नु पर्छ ।
- नियमित रुपमा मनतातो पानीमा थोरै नुन मिसाएर मुख कुल्ला गर्ने। जसले गलामा आराम मिल्छ ।
- अदुवा, इलायची र मरिचको चियाले गलाको खराशमा आराम मिल्छ ।
- प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्ने फ्रिजको वा अन्य कुनैपनि चिसो चिजको सेवन नगर्ने ।
- निल्दा दुख्ने सारो खानेकुरा, चिल्लो,अमिलो र पिरो नखाने ।
- धुलोधुवाँबाट बच्ने, घर बाहिर निस्कदा नियमित माक्सको प्रयोग गर्ने ।
- एक चम्चा बेसार तातो दुधमा राखेर पिउनुपर्छ ।
- घाँटीलाई इरिटेसन गराउने खानीकुरानखाने ।
- धूम्रपान र मदिरा सेवन गर्नुहुँदैन ।
- सरसफाइमा ध्यान दिनुपर्छ ।
- टन्सिल भइरहन्छ, बल्झिरहन्छ भने नाक, कान, घाँटीरोग विशेषज्ञको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।