सिरहा । सिरहाको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । करिब ८० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको अस्पताल आगामी असार १५ गतेभित्र पालिकालाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।
१२ करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको १५ शय्याको उक्त अस्पतालमा आकस्मिक, ओपिडी, प्रसूति, बालरोग तथा शल्यक्रिया सेवा सञ्चालन गरिनेछ । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले अस्पताल सञ्चालनमा आएपछि प्रादेशिक अस्पतालमा हुने बिरामीको चाप घट्ने र नगरवासीले सहज स्वास्थ्य सेवा पाउने बताए।
हाल लहानस्थित प्रादेशिक अस्पतालमा सिरहा, सप्तरी र उदयपुरबाट समेत बिरामी आउने भएकाले अत्यधिक भीड हुने गरेको छ । नयाँ नगर अस्पताल सञ्चालनमा आएपछि विशेषगरी ग्रामीण क्षेत्रका गर्भवती महिला र बालबालिकाले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।