काठमाडौँ । बजारमा बिक्री भइरहेको डाबर ब्रान्डको मह गुणस्तर परीक्षणमा असफल भएपछि सरकारले त्यसलाई तत्काल बजारबाट हटाउन निर्देशन दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले जारी गरेको ‘रिकल आदेश’ अनुसार सम्बन्धित ब्याचका सबै उत्पादन बिक्री रोक्न र उपभोक्तासम्म पुग्न नदिन भनिएको हो ।
विभागले नियमित बजार अनुगमनका क्रममा संकलन गरेको नमुनाको प्रयोगशाला परीक्षण गर्दा डाबर ब्रान्डको ५०० ग्राम मह न्यूनस्तरको पुष्टि भएको जनाएको छ । परीक्षणमा प्रतिकूल देखिएको उत्पादनको ब्याच नम्बर ‘NB00477’ रहेको छ ।
उक्त मह डाबर नेपाल प्रालि ले बारा जिल्लाको जीतपुर सिमरा–२३ स्थित उद्योगबाट उत्पादन गरेको हो । विभागका अनुसार उत्पादनमा खाद्य गुणस्तर मापदण्ड पूरा नभएकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ ।
विभागले सम्बन्धित कम्पनीलाई बजारमा रहेका सोही ब्याचका सम्पूर्ण उत्पादन तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । साथै व्यापारी तथा वितरकलाई पनि उक्त उत्पादन बिक्री नगर्न सचेत गराइएको छ ।
खाद्य विभागले पछिल्लो समय बजारमा बिक्री भइरहेका खानेकुरा तथा पेय पदार्थको निगरानी कडा बनाइएको जनाएको छ । उपभोक्तालाई पनि खाद्य सामग्री खरिद गर्दा उत्पादन मिति, ब्याच नम्बर र गुणस्तरसम्बन्धी विवरण ध्यानपूर्वक हेर्न आग्रह गरिएको छ ।
