उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रसहित जिल्लाका विभिन्न स्थानमा पछिल्ला दिनमा भाइरल ज्वरोको प्रकोप तीव्र बनेको छ। जिल्ला अस्पताल उदयपुरका अनुसार साउनको अन्तिम हप्तादेखि सुरु भएको भाइरल अहिले त्रियुगा नगरका विभिन्न वडासहित अन्य स्थानीय तहमा समेत फैलन थालेपछि उपचारका लागि बिरामीको संख्या ह्वात्तै बढेको छ।
जिल्ला अस्पताल प्रमुख डा। वीरेन्द्र मण्डलले लगातारको वर्षा र प्रदूषित पानीकै कारण भाइरल फैलिएको बताए। अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेका अनुसार अहिले दैनिक करिब ४५०–५०० बिरामी उपचारका लागि आउने गरेका छन्।
आकस्मिक, ओपीडीसहित अन्य कक्षमा पनि चाप बढेपछि बिरामीलाई बेड अभावका कारण उपचार गर्न चुनौती भएको उनले बताए। भदौ लागेपछि भाइरल संक्रमित संख्या थप बढेको छ। जिल्ला अस्पताल मात्र नभई स्थानीय निजी अस्पताल, क्लिनिक र स्वास्थ्यचौकीमा समेत संक्रमितको भीड बढेको जनाइएको छ।
त्रियुगा नगरपालिकाको जोगीदह, मोतिगडा, खैजनपुर, चुहाडे, शाहीखोला, राजाबास, असारी, पोर्ताह, गाईघाट र लक्ष्मीपुरसहितका क्षेत्रमा भाइरलले विद्यालय जाने उमेरका बालबालिकालाई समेत प्रभावित पारिरहेको त्रियुगा–१२ का वडाध्यक्ष नवीनकुमार राईले जानकारी दिए।
यस्तै, बेलका नगरपालिकाको भागलपुर, परनदह, आम्बासी, तपेस्वरी तथा चौदण्डीगढी नगरपालिकाको हँढिया, सुन्दरपुर, सिवाई, बेलही र देवधार क्षेत्रमा पनि भाइरल फैलिएको समाजसेवी देवनारायण चौधरीले बताए।