चितवन । भरतपुर महानगरपालिका–२ ले वडाभित्र डेङ्गी रोग नियन्त्रणका लागि “लामखुट्टेको लार्भा खोज र नष्ट गरौँ” अभियान सुरु गरेको छ ।
वडाध्यक्ष मनोज रानाभाटका अनुसार टोल–टोलमा सचेतनामूलक गतिविधि सञ्चालनसँगै खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र बिहान–साँझ बढी सक्रिय हुने लामखुट्टेको टोकाइबाट जोगिन जनतालाई सचेत बनाउने कार्य भइरहेका छन् ।
उनले वडाभित्र सरसफाइ अभियानलाई तीव्र पारिएको र जोखिम क्षेत्रलाई प्राथमिकताका साथ लार्भा खोज–नष्ट कार्य चलाइएको बताए । "डेङ्गी नियन्त्रणका लागि सरसफाइलाई निरन्तरता दिइएको छ," वडाध्यक्ष रानाभाटले भने, "वडावासीलाई सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।"
चितवन जिल्लामा पछिल्लो समय डेङ्गी संक्रमण बढ्दै गएपछि स्वास्थ्य, सरसफाइ र वातावरण संरक्षणमा वडाले विशेष जोड दिएको हो । विशेषगरी वडामा सञ्चालन भइरहेको रात्रिकालीन बजारलाई ध्यानमा राखी स्वास्थ्य सरसफाइलाई अझ कडाइ गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरका अन्य वडाहरूमा पनि यस्तै अभियान क्रमशः सुरु गरिँदैछ । थोरै मात्र पानी जमेको भाँडामा पनि एडिज प्रजातिको लामखुट्टेले फुल पार्ने भएकाले नागरिकलाई आफ्नो घर–आँगन सफा राख्न आग्रह गरिएको छ ।
यस अभियानमा वडा कार्यालयसँगै टोल विकास संस्था र केही स्वास्थ्यसँग सम्बन्धित संस्थाहरू पनि संलग्न छन् ।