काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले प्रभावितको उपचार र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमार्फत सहयोग पुर्याउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
बैठकमा गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडी र सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । बैठकले मुलुकको शान्ति–सुरक्षाको समग्र समीक्षा पनि गरेको थियो ।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र खानेपानीमन्त्री प्रदीप यादवबीच हैजा नियन्त्रणबारे छुट्टै छलफल भएको छ । मन्त्री पौडेलले स्थानीय सरकारसँग समन्वय गरेर बिरामीको तत्काल उपचार, साथै सरकारी तथा निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिनुभएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।