काठमाडौँ । नेपाल जनस्वास्थ्य क्षेत्रमा नयाँ अध्याय लेख्दै औपचारिक रूपमा रुबेला–मुक्त राष्ट्र घोषित भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठन (WHO) र युनिसेफका प्रतिनिधिले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई रुबेला निवारण प्रमाणपत्र हस्तान्तरण गरे । यससँगै नेपाल डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रुबेला नियन्त्रणमा सफल हुने छैटौँ मुलुक बनेको छ । डब्लुएचओले २०८२ भदौ २ गतेदेखि नेपालले रुबेला उन्मूलन गरेको प्रमाणित गरेको हो ।
मन्त्री पौडेलले यो उपलब्धि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र आम नागरिकको संयुक्त प्रयासको नतिजा भएको भन्दै सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको बताए । उनले खोप अभियानलाई निरन्तरता दिँदै अन्य रोकथामयोग्य रोगहरूमाथि पनि विजय हासिल गर्न आह्वान गरे ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालले २०२५ मै रुबेला उन्मूलन गरेर महत्त्वपूर्ण माइलस्टोन हासिल गरेको उल्लेख गर्दै अब दादुरा उन्मूलनतर्फ ध्यान केन्द्रित गर्ने बताए । उनका अनुसार दादुरा छिटो फैलिने रोग भएकाले निगरानी प्रणालीलाई सबल बनाएर नियन्त्रण गर्न सके नेपालले अन्य रोग नियन्त्रणमा पनि उदाहरणीय सफलता देखाउनेछ ।