वीरगञ्ज । वीरगञ्जमा समुदायस्तरमा फैलिएको झाडापखाला र हैजाको प्रकोप नियन्त्रणका लागि तीनै तहका सरकार सक्रिय भएका छन्।
गत शुक्रबारदेखि ४२२ बिरामी अस्पतालमा भर्ना भएका मध्ये २२५ जना निको भएर घर फर्किएका छन् भने १९९ जना अझै उपचाररत छन्। तीमध्ये केहीमा हैजा पुष्टि भएको छ। दूषित खानेपानी नै मुख्य कारण भएको आशंका गर्दै वीरगञ्ज महानगरले पानीको नमुना परीक्षण गरेकोमा पठाइएका १० मध्ये ८ नमुनामा हैजा पुष्टि भएको छ। बाँकी दुई नमुनाको रिपोर्ट आउन बाँकी छ।
हैजा तीव्र रूपमा फैलिन थालेपछि महानगरले आजदेखि तीन दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। यस अवधिमा शिक्षक–कर्मचारीलाई जनचेतनामूलक अभियानमा सक्रिय हुन आग्रह गरिएको छ।
स्वास्थ्य निकाय र महानगरले संयुक्त रूपमा सरसफाइ र सचेतनामूलक कार्यक्रम चलाइरहेका छन्। चिकित्सकहरूले स्थानीयलाई उमालेको पानी मात्र पिउन, खुला शौच नगर्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन सुझाव दिएका छन्।