नेपालगञ्ज । भेरी अस्पतालले सर्पदंशको उपचार प्रभावकारी बनाउन सफल हुँदै यस वर्ष अस्पतालमै एक जनाको पनि मृत्यु हुन नदिएको जनाएको छ। पछिल्ला तीन महिनामा ४५० जनाले सर्पदंश उपचार पाएका छन्, जसमा करिब ८० प्रतिशत विषरहित सर्पका केस रहेका थिए।
इमरजेन्सी विभाग प्रमुख डा. सङ्केत रिसालका अनुसार २० प्रतिशत बिरामीलाई मात्र एन्टिस्नेक भेनम प्रयोग गरिएको हो। अस्पतालमा ल्याइएका सबै सुरक्षित भए पनि दुई जनाले उपचार पाउनुअघि ज्यान गुमाएका थिए।
समयमै अस्पताल आउने बानी, चिकित्सकको तयारी र व्यवस्थापन नै सफलताका मुख्य कारण रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले बताए।
नेपालमा पाइने ९० प्रजाति सर्पमध्ये १८ प्रजाति विषालु हुने बताइन्छ।