काठमाडौँ, १२ भदौ । स्वास्थ्य बीमा बोर्डले विगतमा बीमा गरेर नवीकरण नगरेका परिवारलाई असोज मसान्तसम्म बीमा नवीकरण गर्न आग्रह गरेको छ। यस अवधिसम्म नवीकरण गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने भए पनि म्यादपछि नवीकरण गर्दा जरिवाना लागू हुने बोर्डले जनाएको छ।
निर्धारित जरिवाना दरअनुसार ३ महिनाभित्र १०%, ६ महिनाभित्र ३०%, १ वर्षभित्र ५०%, १ वर्षपछि १००%, २ वर्षपछि तीन गुणा र ३ वर्षपछि चार गुणासम्म योगदान रकम थप लाग्नेछ।
बोर्डले ई–सेवा, कनेक्ट–आइपीएस, खल्ती वा दर्ता सहयोगीमार्फत सजिलै बीमा नवीकरण गर्न सकिने जानकारी दिँदै समयमा नै नवीकरण गरी स्वास्थ्य सुरक्षामा निरन्तरता दिन आह्वान गरेको छ।
