काठमाडौं । काभ्रेपलाञ्चोकका विजय तामाङको ज्यान अन्तिम अवस्थामा पुगेको बेला नेपाल मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. अर्जुन बुढाथोकी नेतृत्वको टोलीले बचाउन सफल भएको छ।
लामो समयदेखि रक्सी तथा चुरोट सेवन गर्दै आइरहेका तामाङलाई साउन २६ गते अगाडी देखि नै गाउँमा स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । स्वासप्रस्वास र मुटुमा समस्या देखिएपछि सुरुमा उनलाई पाटन अस्पताल लगिएको र त्यहाँ विद्युतीय झड्का दिएर अनियमित मुटुको धडकनलाई सामान्य बनाउने कोशिष गरिएको थियो । तर, पाटनमा भेन्टिलेटर र आइसियू खाली नहुँदा तत्कालै गंगालाल ह्दय रोग केन्द्रमा रेफर गरिएपनि त्यहाँ समेत भेन्टिलेटर र आइसियू नपाउँदा उनका आफन्तले थापाथली स्थित एक निजी अस्पताल पुर्याएका थिए । यद्यपि, गाउँको सामान्य खेती किसानी गरेर जिविकोपार्जन गरेर बसेका तामाङ परिवारले निजी अस्पतालको खर्च धान्न सक्ने अवस्था भएन । त्यसपछि उनलाई तत्कालै नेपाल मेडिकल कलेज ल्याइएको थियो ।
साउन २६ गतेदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौं ल्याइएका तामाङलाई पाटन, गंगालाल र थापाथलीस्थित निजी अस्पताल हुँदै अन्ततः नेपाल मेडिकल कलेजमा भर्ना गरिएको थियो। आइसियू र भेन्टिलेटर नपाउँदा उपचारमा कठिनाइ भए पनि नेपाल मेडिकल कलेजमा औषधि, डायलाइसिस र निरन्तर सघन उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको हो।
लगातार १० दिनको उपचारपछि डिस्चार्ज भएका तामाङले आइन्दा रक्सी नखाने प्रतिबद्धता जनाउँदै चिकित्सक र नर्सलाई धन्यवाद दिएका छन्।
डा. बुढाथोकीले धूम्रपान, मद्यपान, अत्यधिक चिल्लो खाने बानी, शारीरिक निष्क्रियता तथा ब्लडप्रेसर–सुगर भएका व्यक्तिमा मुटु रोगको जोखिम बढी हुने बताउँदै नियमित व्यायाम र स्वस्थ जीवनशैलीले यसबाट जोगिन सकिने बताएका छन्।